तमोरमा बेपत्ताको ७ दिनपछि शव फेला
गुगलपाटी संवाददाताधनकुटा : तमोर नदीको किनारमा सेल्फी खिच्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय नागरिक भिनित शर्माको शव फेला परेको छ। सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले शहिदभूमि गाउँपालिका वडा नं।–१ गोपालपुरस्थित तमोर नदीको भंगालोभित्र बेपत्ता भएको ७ दिनपछि मृत अवस्थामा फेला पारेको शसस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्याले जानकारी दिए। शर्मा गत फाल्गुन २४ गते धनकुटाको मुलघाटस्थित तमोर नदीको किनारमा सेल्फी खिच्ने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए। विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत शर्मा भारतको पूर्णियाका हुन्। शर्माको शव पहिचान भइसकेकाले आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक कर्माचार्यले बताए। बेवारिसे शव फेला यस्तै पाँचथरको मिक्लाजुङ गाँउपालिकामा अन्दाजी ५०र५५ वर्षको पुरुषको शव किरा परेको अवस्थामा फेला परेको हो। बिहीबार बिहान साविक रबि गाविसको थामथुम खोला छेउमा रहेको अलैची बारीमा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मधेसी मूलको जस्तो देखिने त्यो शव सडेकोले पहिचान गर्न गाह्रो भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। अहिले शवलाई जिल्ला अस्पताल पाँचथरको पोष्टमार्टम घरमा राखिएको छ। सनाखतका लागि थप आवश्यक प्रकिया अघि बढाएको प्रहरी उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए।
स्रोतः थाहाखबर