स्याललाई हानेको गोली लागेर एकजना घाइते
गुगलपाटी संवाददातादैलेख : जिल्लाको नौमुले गाउँपालिका २ मा स्याल धपाउँन हानेको गोलि लागेर एक जना घाइते भएका छन्। बाख्रा चराउन जंगल गएको बेला स्यालले बाख्रालाई आक्रमण गर्न खोजेपछि स्याल धपाउन पड्काएको बन्दुकको गोली लागेर नौमुले गाउँपालिका २ का बिर्खबहादुर शाही घाइते भएका हुन्। स्याल धपाउन पड्काएको बन्दुकको गोली लागेर शाहीको हात र खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर साँवतले बताए। घाइते युवक शाहीलाई उपचारका लागि स्वास्थ्य कार्यालय दैलेख ल्याइएको र दैलेखमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि इन्स्पेक्टरको नेतृत्वमा छ जनाको टोली घटनास्थलमा पुगिसकेको र घटनास्थलमा अहिलेसम्म कुनै पनि हतियार फेला नपरेको निमित्त प्रहरी प्रमुख साँवतले बताए। चट्याङले घाइते यस्तै, दाङमा चट्याङ लागेर एक युवती घाइते भएकी छिन्। शुक्रबार मध्याह्न सवा १२ बजेतिर चट्याङ लागेर तुलसीपुर उपमहानगरपालिका १८ निवासी २२ वर्षीया शिवा बस्नेत घाइते भएकी हुन्। घरमै बसिरहेको अवस्थामा चट्याङले लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए। घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। चट्याङ लागेर बस्नेतको दुईवटै खुट्टा जलेका छन्।
स्रोतः थाहाखबर