शिक्षिका हत्याको आरोपमा २ जना पक्राउ

गुगलपाटी संवाददाता
१ चैत्र २०७६ ०७:२४

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षीया शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । गत मंगलबार बिहान साढे ८ बजे विद्यालय हिंडेकी शिक्षिका कार्की मृत फेला परेकी थिइन् । कार्कीको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–९ का २५ वर्षीय रविराज रम्तेल र उनकी श्रीमती वर्ष २३ की कमला सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

रम्तेल दम्पतीबीच भएको झगडा छुट्याउँदा शिक्षिकाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेसँगै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए । ‘अनुसन्धानका क्रममा रम्तेल दम्पतीबीच भएको झगडा छुट्याउन जाँदा कार्कीको हत्या भएको देखिन्छ, तर थप तथ्य आउन बाँकी छ’ प्रहरी निरीक्षक बस्नेतले भने उनीहरु विरुद्ध ओखलढुंगा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

रम्तेलकी श्रीमती कमला माइत ९मोलुङ्ग गाउँपालिका–५ प्राप्चामा० बस्दै आएकी थिइन् । श्रीमतीलाई लिन गएका रम्तेल र श्रीमतीबीच कुटाकुट भइरहेको समयमा छुट्याउन जाँदा शिक्षिका कार्कीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रविराजले कार्कीको हत्या गरेको स्वीकारेका छन् ।

मृतक कार्कीको टाउकोको पछाडी भाग र चिउडोमा ढुंगाले हानेको जस्तो चोट देखिएकाले स्थानीयले हत्याको आशंका गरेका थिए । प्रहरीका अनुसार रविराज चोरी मुद्दामा पक्राउ परी ५० हजार रुपैयाँ धरौटीमा दुई महिना अघि कारागारबाट छुटेका थिए । बेमेलका कारण उनकी श्रीमती माइतमा बस्दै आएकी थिइन् ।

मृतक शिक्षिका कार्की सोहि गाउँपालिकाको वडा नं। ६ श्रीचौरमा रहेको सहिद पेशल आधारभूत विद्यालयमा २०६६ सालदेखि बालशिक्षा सहयोगीका रुपमा कार्यरत थिइन् । उनको अढाई वर्षको एक छोरा छन् । उनका श्रीमान एक महिना अघिमात्र वैदेशीक रोजगारीबाट घर फर्किएका थिए ।
स्रोतः नयाँपत्रिका