भारतमा कोरोना त्रास : ‘कानमा तेल हालेर बस्यो दूतावास’

गुगलपाटी संवाददाता
६ चैत्र २०७६ ०५:४८

नयाँदिल्ली — नेपाल सरकारले विश्वव्यापी रुप लिएको कोरोना भाइरसको महामारीविरुद्ध जुध्न हरेक दिनजसो विभिन्न निर्णय गर्दै आएको छ । यसले पनि सरकारको महामारीप्रति चिन्ता र चासो देखाउँछ । तर, त्यसको ठिक उल्टो दिल्लीस्थित नेपाली दूतावास भने कोरोनाको महामारी र सरकारले लिएको चिन्ता र चासोप्रति पुरै बेखबर देखिन्छ ।

जबकि भारतमा विभिन्न पेशा र व्यवसायमा गरी नेपालीहरुको बाक्लो उपस्थिति छ । र, पछिल्लो समयमा भारतमा कोरोना भाइरस संक्रमणको त्रास दिनप्रति दिन बढ्दै गएपछि उनीहरुलार्ई पनि भयभित बनाउँदै लगेको छ । भारतमा बुधबार साँझसम्म १६० भन्दा बढीमा कोराना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये तीन जनाको मृत्यु पनि भइसकेको छ । भाइरसको संक्रमण फैलन नदिन केन्द देखि प्रदेश सरकारले सावधानीका लागि विभिन्न उपायहरु अवलम्बन गरिरहेका छन् । कतिपय राज्यहरुले ‘लकडाउन’ सम्मको निर्णय लिएका छन् । तर, दिल्ली दूतावासले भारतमा रहेका नेपालीहरुलाई लक्षित गरी हालसम्म पनि कोरोनाका महामारीका सम्बन्धमा कुनै पनि औपचारिक सूचना र पहल गरेको देखिँदैन । कतिसम्म भने दूतावासले प्रवासी नेपालीहरुलाई लक्षित गर्दे कोरोनाबाट बच्नका लागि अपनाउनुपर्ने सामान्य सावधानीका विषयमा समेत सूचना प्रवाह गर्न समेत जाँगर देखाएको छैन ।

जनशक्ति र स्रोतसमेत सीमित भएका नेपाली नियोगहरुले समेत कोरोना महामारीका बारेमा त्यहाँका नेपाली समुदायलाई जानकारी गराउने उद्देश्यले सूचना जारी गरिसक्दा पनि दिल्लीस्थित दूतावासले भने अहिलेसम्म कुनै पनि त्यस्तो सूचना जारी गरेको छैन । जबकि विदेशी नियोगहरुमध्ये जनशक्ति र स्रोतसाधनका हिसाबले दिल्ली दूतावास सबैभन्दा ठूलो हो । यहाँ परराष्ट्र, प्रशासन, शिक्षाका अतिरिक्त सेना, प्रहरी, अनुसन्धान, वाणिज्यसँगसम्बन्धित अधिकारीहरुको बेग्लाबेग्लै दरबन्दी छ ।

विदेशस्थित दूतावासको प्रमुख कामहरुमध्ये आफ्नो सरकार र सम्बन्धित एजेन्सीहरुसँग समन्वय गर्ने र निर्देशनहरु पालना गर्ने पनि पर्छ । त्यसबाहेक दूतावासको काम भनेको आतिथ्य मुलुकद्वारा जारी गरिएका सरोकार राख्ने सूचना, विकसित घटनाहरुका बारेमा आफ्नो मुलुकलाई जानकारी गराउनु र आवश्यक कदमहरुका बारेमा सुझाव दिनु पनि हो । त्यसबाहेक विशेष परिस्थितिमा आतिथ्य मुलुकका सरोकारवाला, संस्था र संयन्त्रहरुको कामकारबाहीका बारेमा जानकारी राख्ने र आवश्यक परेको खण्डमा तिनीहरुसँग समन्वय गर्ने पनि हो । अझ प्रवासमा रहेका नेपालीहरुले अभिभावक नै ठान्ने भएकाले आपत्विपद्का बेला दूतावासको प्रमुख काम भनेको नेपाली समुदायसँग नियमित सम्पर्क गर्ने र आवश्यक सूचनाहरु प्रवाह गराउनु पनि हो । जसले गर्दा उनीहरु ढुक्क हुने वातावरण बनोस् । तर, दिल्लीस्थित नेपाली दूतावासले न त नेपाली र भारतीय निकायसँग पर्याप्त समन्वय गरेको छ न त नेपाली समुदायलाई नै आस्वस्त पार्न सकेको छ ।

त्यतिमात्र होइन, दूतावासको बेवास्ताका कारण उपचारका लागि भारत आउने नेपालीहरुले सबैभन्दा बढी सास्ती खेप्नु पर्ने परिस्थिति सिर्जना भएको छ । भारतले कोरोनाको त्रास बढ्दै गएपछि सरकारी निकायको पूर्वस्वीकृति बेगर कुनै पनि सरकारी वा निजी अस्पतालहरुमा विदेशीहरुको उपचार र भर्ना नलिन निर्देशन दिएको छ । नेपालीहरुका लागि विशेष व्यवस्था नभएका कारण ती स्वास्थ्य संस्थाहरुले नेपालीहरुलाई समेत उपचार गर्न छाडेका छन् । र, यो समस्या सम्बोधनका लागि पनि दूतावासले कुनै पहल गरेको छैन । जबकि दैनिक सयौंका संख्यामा नेपालीहरु उपचारका लागि भारतका दिल्लीलगायतका सहरमा आउने गर्छन् ।
विदेशी नागरिकलाई लक्षित गरेर नेपाल सरकारले ‘ट्राभल एडभाइजरी’ जारी गरिसके पनि दूतावासले त्यसलाई आधार बनाएर अहिलेसम्म पनि कुनै सूचना जारी गरेको छैन । त्यसबाहेक सरकारका उक्त निर्णयका सम्बन्धमा दिल्लीस्थित नियोगहरुलाई पनि अझै सम्म पनि कुनै जानकारी गराइएको छैन । न त भारत भएर नेपाल जान चाहने विदेशी पर्यटकहरुलाई नै लक्षित गरी कुनै सूचना जारी गरिएको छ ।

त्यसैगरी दूतावासको लापरवाहीका कारण भारतमा रहेका नेपालीहरुमा कोरोनाको संक्रमण देखिइहालेको खण्डमा आवश्यक उपचारका लागि कहाँ कहाँ सम्पर्क गर्ने भन्ने अन्यौल कायम छ । न त कोरोनाका सम्बन्धमा जानकारी लिन वा बुझ्नका लागि कुनै हटलाइनको नै व्यवस्था गरेको छ । यदि कुनै नेपालीलाई कोभिड भाइरसको संक्रमण पुष्टि भइहाले त्यस्ता बिरामी र आफन्तले कहाँकहाँ जाने र कहाँ कहाँ सम्पर्क गर्नुपर्छ भन्ने सम्बन्धमा कुनै जानकारी सार्वजनिक गरिएको छैन । दिल्लीस्थित अन्य मुलुकका कतिपय नियोगहरुले आफ्ना नागरिकहरुलाई लक्षित गरी हटलाइनको व्यवस्था गरिसकेका छन् ।

त्यसका साथै भारतका स्कूलहरुको अन्तिम परीक्षा सकिएको र कलेजहरु पनि बन्द गर्न निर्देशन भएका कारण नेपालीहरुको स्वदेश फर्कने क्रम बढेको छ । तर, उनीहरुलाई नाकामा जाँदा कोरोनाको परीक्षण र कोरानाको शंका भएको खण्डमा क्वारेन्टाइनलगायतका सामना गर्नुपर्ने परिस्थितिहरुका बारेमा प्रस्ट जानकारी भएको पाइँदैन । त्यसैगरी भारतले कोरोनाको संक्रमण भित्रिन नदिन गत सातादेखि आउजाउका लागि वीरगन्ज, महेन्द्रनगर, काँकडभिट्टा, भैरवाहस्थित नाकामा मात्र औपचारिक रुपमा खुला राखेको छ । तर, दूतावासले त्यससम्बन्धमा पनि औपचारिक जानकारी गराएको छैन ।

त्यसैगरी नेपाल सरकारले भारतबाहेकका सबै विदेशीहरुका लागि प्रवेश बन्द गरिसकेको छ । तर, त्यति ठूलो निर्णयका बारेमा पनि दूतावासले कुनै जानकारी सार्वजनिक गरेको छैन । जसले गर्दा अझै पनि विदेशी पर्यटकहरु दूतावासको गेटमा आएपछि मात्र जानकारी पाउने परिस्थिति विद्यमान छ । जबकि दिल्लीमा रहेका अधिकांश विदेशी नियोगहरुले यसअघि नै भिसा प्रक्रिया र सम्बन्धित मुलुक भ्रमणका सम्बन्धमा जारी भएका निर्देशनहरु उल्लेख गरेर सार्वजनिक सूचनाहरु जारी गरिसकेका छन् ।

भारतका दिल्ली, महाराष्ट्र, उत्तरखण्ड, कर्नाटक, गोवा, पन्जाब, हिमाचल नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्यका रुपमा चिनिन्छन् । कोरोनाको त्रासका कारण भारतले विदेशीहरुको प्रवेशमा रोक लगाएपछि पुरै भारतको अर्थतन्त्र क्रमशः शिथिल बन्दै जान थालेको छ । र, त्यसमा पनि नेपालीहरुको बाक्लो उपस्थिति रहेका सहरहरुमा बढी असर देखिन थालेको छ । यसले नेपालीहरुको रोजगारीमै प्रभाव पर्न थालेको छ । मुम्बई, गोवा, पुनेलगायतका ठाउँमा त नेपालीहरु काम गर्ने रेस्टुरेन्ट र होटलले धमाधम कर्मचारीहरु कटौती र बिदा दिन थालेका छन् । यो क्रममा जारी रहने हो भने नेपालको अर्थतन्त्रमै धक्का पुग्ने देखिन्छ । किनभने अर्थतन्त्रको प्रमुख आधारको रुपमा रहेको रेमिटेन्स्को ठूलो हिस्सा भारतबाट आउने गरेको छ । मुलुकको अर्थव्यवस्थामै दीर्घकालीन असर पार्ने यी घटनाका सम्बन्धमा पनि दूतावास पुरै बेखबरछ ।

दिल्लीस्थित दूतावासका नियोग उपप्रमुख भरतकुमार रेग्मीले भने परिस्थितिलाई नजिकबाट नियालिरहेको तथा नेपाल सरकार र भारत सरकारसँग आवश्यक समन्वय भइरहेको बताए । भारतमा रहेका नेपालीहरुलाई कोरोना महाकारीका सम्बन्धमा आवश्यक सूचना प्रवाह गर्न दूतावासका तर्फका भएको ढिलाइका बारेमा राखिएको जिज्ञासामा रेग्मीले त्यसको गृहकार्य अन्तिम चरणमा पुगेको केही दिनमै नतिजा देखिने दाबी गरे । ‘नेपाल सरकार र भारत सरकारसँग समन्वय भइरहेका छौं । केही दिनमा सूचना जारी गर्ने तयारी भइरहेको छ । चाँडै नै त्यसको परिणाम देखिनेछ । कसरी सूचना जारी गर्ने भन्ने गृहकार्य भइरहेको छ,’ रेग्मीले भने । रेग्मीको उक्त भनाइबाट पनि कोरोना महामारीले पुरै विश्वमा त्रासदी मच्चाइसक्दा पनि दूतावासले बल्ल त्यससम्बन्धमा तयारी सुरु गरेको प्रस्ट हुन्छ ।

दूतावासको यस किसिमको बेवास्ताप्रति प्रवासी नेपालीहरुले पनि असन्तुष्टि पोख्न थालेका छन् । अखिल भारत नेपाल एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्का दूतावासले संसारभर महामारीको रुप लिइसक्दा पनि दूतावासको बेवास्ता देखेर आश्चर्यचर्कित भएको बताए । भारतमा अन्य देशको भन्दा सबैभन्दा ठूलो संख्यामा नेपालीहरुमा उपस्थिति भएर पनि दूतावासले उनीहरुको सुरक्षाप्रति संवेदनशील नहुनु आफैमा दुःखद भएको खड्काको भनाइ छ । ‘भारतमा रहने नेपालीहरुका सुरक्षित रहन सचेत गर्नुपर्थ्यो । भारतमा काम गर्ने कलकारखाना, होटलमा काम गर्ने नेपालीहरुका बारेमा चासो देखाएको छैन,’ उनले भने, ‘यति ठूलो विपद्का बेला समेत दूतावासले केही चासो नदेखाउने हो भने त त्यो अर्थ रहेन । पुरै कानमा तेल हालेर बसेको छ । शायद सरकारले निर्देशन नदिएको हो कि दिएर पनि दूतावासले चासो नदेखाएको त्यसमा हामी सबै प्रवासी नेपाली अचम्मित छौं ।’

उनले दूतावासले अभिभावको भूमिका निभाउनु पर्नेमा कोरोनाको यति ठूलो त्रास हुँदा समेत दूतावासले यसकिसिमको लापरवाही देखाउनु आफैमा दुखद भएको बताए । ‘भारतका जम्मू कश्मीर, लद्दाखलगायतका कतिपय विकट स्थानमा नेपालीहरु काम गरिरहेका छन् । कतिपय सामाजिक सञ्जालको पहुँचभन्दा पनि बाहिर छन । दूतावासले त तिनलाई समेत ध्यानमा राख्दै सूचना प्रवाह गर्नु पर्ने हो,’ खड्काले भने । त्यसैगरी कोरोनाका कारण भारतमा ठूला मात्रामा होटल र रेस्टुरेन्टहरु बन्द हुन थालेको र त्यसले गर्दा तिनमा काम गर्ने धेरै नेपालीले रोजगारी गुमाउनुपर्ने परिस्थिति सिर्जना हुँदै गएकोमा दूतावासले त्यसतर्फ पनि चासो राख्नुपर्ने उनको भनाइ छ ।
स्रोतः कान्तिपुर