भारत तस्करी गर्न लागिएको २० हजार मास्कसहित दुई पक्राउ
गुगलपाटी संवाददातावीरगन्ज : नेपालबाट भारत तस्करी गर्न लागिएको ६ बोरा मास्कसहित २ जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । भारत तस्करी गर्न लागिएको २० हजार थान मास्कसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका ५ घर भएका ३८ वर्षीय सुनिल जयसवाल र २६ वर्षीय अजय महतो कोइरी रहेका छन् । काठमाडौंबाट पर्साको सीमावर्ती बजार भिस्वा जाँदै गरेको रात्रीबस पोखीयामा रोकेर चेकजाँच गर्दा प्रहरीले २० हजार थान मास्कसहित जयसवाल र कोइरीलाई पक्राउ गरेको हो ।
काठमाडौंबाट मास्क खरिद गरी नेपालबाट भारतमा लगेर बढी मुल्यमा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले रात्रीबसबाट बरामद गरेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
कोरोना भाइरसको महामारी फैलिएर नेपाली बजारमा मास्कको अभाव भइरहेको बेला तस्करीका लागि भारत लैजाँदै गरेको अवस्थामा मास्कसहित दुवैलाई पक्राउ गरिएको उनले बताइन् ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र बरामद मास्क के गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीले निर्णय गर्ने प्रहरी उपरीक्षक पन्तले बताइन् ।
स्रोतः अन्नपुर्णपोस्ट