मूल्य घट्ने बेला २२ पम्पले उठाएनन् तेल
गुगलपाटी संवाददाताकाठमाडौँ — आयल निगमले इन्धनको मूल्य समायोजन गर्ने बेला २२ पम्पले इन्धन ढुवानी नगरेको भेटिएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहँदा यहाँ पनि घट्ने अनुमान गर्दै ती पम्पले इन्धन ढुवानी गरेका थिएनन् । नोक्सानी हुने त्रासले ढुवानी नगर्दा आपूर्ति प्रणालीमै असर परेको थियो ।
पम्पले ढुवानी नगर्दा सर्वसाधारण घण्टौं लाइनमा बस्न बाध्य थिए ।‘प्रतिलिटर ५ देखि १० रुपैयाँ घट्ने डरले व्यवसायीले अनुमान गरेर इन्धन उठाएनन्,’ निगमका एक अधिकारीले भने, ‘अत्यावश्यक वस्तुका रूपमा रहेको इन्धन ढुवानी नगर्नु गलत हो ।’ आपूर्ति व्यवस्थालाई प्रभावित गर्ने गरी इन्धन ढुवानी नगरेपछि ती पम्पलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निगमले पत्र काटेको छ ।
‘उपभोक्तालाई सहज, सरल र निर्बाध रूपमा उपझोग गर्ने वातावरण कायम गर्न निगमले साधारण बित्रेतामा नियुक्त गरिएको हो । वर्तमान परिस्थितिमा इन्धनको मागबमोजिम उपलब्ध गराउँदा पनि फागुनको दैनिक औसत खरिदअनुसार चैत ३ गते इन्धन खरिद गरेको देखिँदैन,’ निगमले बिहीबार पम्पहरूलाई पठाएको पत्रमा भनिएको छ, ‘पम्पले इन्धन नउठाउँदा बजार असन्तुलन भई उपभोक्ताले कष्ट बेहोर्नुपरेको छ । सो सम्बन्धमा पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र पेस गर्न अनुरोध छ ।’ पम्पहरूले उचित जवाफ नदिए तिनलाई निलम्बन गरिने निगमका एक अधिकारीले बताए ।
हाल भारतीय आयल निगमले प्रत्येक १ र १५ तारिखमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउँछ । आयल निगमले पनि स्वचालित मूल्यप्रणालीअनुसार इन्धनको मूल्य समायोजन गर्दै आएको छ । अहिले सीमा क्षेत्रमा कुनै अवरोध नभए पनि चैत २ गते ९१५ तारिखमा० प्रायः पम्प बन्द भए । निगमले चैत ३ मा पेट्रोलरडिजेल र मटितेलको मूल्य समायोजन गरी प्रतिलिटर दुई रुपैयाँ घटाइसकेको छ ।
मूल्य घटे पनि उपभोक्ताको लाइन कायमै भएपछि निगम र आपूर्ति विभागको संयुक्त टोलीले अनुगमन गरेको थियो । इन्धन नउठाई पम्प बन्द गर्नेलाई स्पष्टीकरण सोधिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । निगमले ड्रम र बोतलमा इन्धन बिक्री गर्ने साझा र सेनाका पेट्रोल पम्पलाई पनि सचेततासहितको चिठी पठाएको उनले जानकारी दिए ।
यता पेट्रोलियम डिलर्स एसोसिएसन वाग्मतीका अध्यक्ष अच्युत खड्काले भने मौज्दात इन्धन बिक्री नभएकाले पम्पले तेल नउठाएको बताए । ‘दैनिक एक हजारदेखि १५ सय लिटर बिक्री गर्ने पम्प छन् । बिक्री नै हुँदैन, त्यसैले उठाएनन्,’ उनले भने । महिनामा करिब ३ हजार लिटर बिक्री गर्ने पम्पलाई कारबाही गर्न नपाइने उनको भनाइ छ ।
खड्काले मासिक ३ हजार लिटर दाबी गरे पनि निगमले भने ती पम्पले यसअघि हप्तामा दुई पटक चाररचार हजार लिटर बिक्री गरिरहेको दाबी गरे । पम्पहरू निगमकै डिलर भएकाले स्पष्टीकरण सोध्नु सामान्य भएको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान बताउँछन् ।
निगमले उपत्यकाका पम्पलाई स्पष्टीकरण सोधे पनि बाहिरका पम्पलाई भने उन्मुक्ति दिएको छ । निगम स्रोतका अनुसार उपत्यकाबाहिरका प्रायः पम्पले कम इन्धन उठाएका थिए । भैरहवामा पेट्रोलको औसत बिक्री साढे २ सय र डिजेल ८ सय किलोलिटर हो । तर व्यवसायीले पेट्रोल ४० र डिजेल २ सय २४ किलोलिटर मात्रै उठाएका थिए । विराटनगर, वीरगन्ज, चारआली, दाङ आदि क्षेत्रका पेट्रोल पम्पले पनि कम परिमाणमा इन्धन उठाएका थिए ।
स्रोतः कान्तिपुर