गुद मैथुनको अभियोग लागेका मलेसिया पूर्वउपप्रधानमन्त्री जेलमुक्त

गुगलपाटी संवाददाता क्वालालम्पुर  :
३ जेष्ठ २०७५ ०७:३१

 मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त  भएका छन्  । गुदमैथुनको अभियोगमा जेल परेका  इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो ।

उनलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उनका सुभेच्छुकले खुशीयाली मनाउँदै र्‍याली निकालेका थिए । कालो कोटमा देखिएका ७० वर्षीय अन्वार खुशी हुँदै राजदरबार गए भने पत्रकारहरूले उनलाई लगातार पछ्याइरहेका थिए । राष्ट्रप्रमुख तथा राजा मोहम्मद पाँचौँले उनलाई पूर्ण माफी दिँदै तत्काल रिहा गर्न लगाएका हुन् ।  ।

थुनामुक्त भएपछि आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अन्वारले आफूलाई विनाशर्त रिहा गरिएको बताए  । उनलाई सन् १९९८ मा उपप्रधानमन्त्रीबाट पदच्युत गरएको थियो भने केही समयपछि भ्रष्टाचार र गुदमैथुनको आरोप लगाएर जेल चलान गरिएको थियो ।

उनलाई सन् २०१५ देखि फेरी गुदमैथुनकै आरोपमा दोस्रो पटक काराबासको सजाय गरिएको थियो । आफूमाथि लागेको आरोपलाई भने अन्वारले अस्वीकार गर्दै राजनीतिक प्रतिशोध साँधेर गलत आरोप लगाई दण्डित गरिएको  बताएका छन् ।

सन् २०१६ देखि अन्वार र पूर्वप्रधानमन्त्री माहाथिर मोहम्मदले संयुक्तरूपमा नाजिब रजाक नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गरेका थिए । उनीहरूको मोर्चाबन्दीबाट बनेको पकाटन हरापन गठबन्धनले गत हप्ता भएको आमनिर्वाचनमा जित हासिल गरेको थियो ।

निर्वाचनमा विजयी भएसँगै गठन भएको नयाँ सरकारको प्रधानमन्त्री बनेका माहाथिरले दुई वर्षपछि अन्वारलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता गरेका छन् । बयानब्बे वर्षीय प्रधानमन्त्री माहाथिरले दुई वर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने भएका छन्।

यसअघि लामो समय मुलुकको प्रधानमन्त्री भएर विश्राम लिएका माहाथिरले निवर्तमान प्रधानमन्त्रीको कार्यकालमा मुलुकमा भ्रष्टाचार र गलत कामहरू भएको भन्दै फेरी राजनीतिमा फर्किएका हुन् ।  सिन्ह्वा