पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु

गुगलपाटी संवाददाता
२३ चैत्र २०७६ ०८:३६

 भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालस्थित बीएम इँटाभट्टाको पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । इँटाभट्टामा इँट बनाउन चाहिने पानी जम्मा गर्न बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा उदयपुरको गाइँघाट नपा ४ आमटार घर भई हाल सोही इँटाभट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार शनिबार दिउँसो पौडी खेल्न गएका राई पोखरीभित्रै वेपत्ता भएका थिए । प्रहरीले पौडी खेल्न हाम फालेका राईको लास पोखरीको हिलोमा डबिएको अवस्थामा फेला परेको परिसरले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले पौडी खेल्न गएका राई अचानक डुबी बेपत्ता भएको भन्दै प्रहरीलाई खबर गरिएको बताए । सोही जानकारीको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमाण्डमा अनुसन्धान अधिकृतको टोली घटनास्थल खटिएको उनले बताए ।

ुप्रहरी टोलीले स्काभेटरमार्फत पोखरीको पानी निकास गरेर पठाएपछि राई हिलोमा गडिएको अवस्थामा फेलापरेका थिएु, उनले भने । प्रहरी नायब उपरीक्षक गिरीका अनुसार राईको मृत शरीर फेला परेपछि कानुनबमोजिमको घटनास्थल तथा शव जाँच प्रकृति मुचुल्कालगायत कार्य सकेर शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल पठाइएको थियो ।घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले बताएको छ ।
स्रोतः अन्नपुर्णपोस्ट