कोरोना प्रकोप : संक्रमण सुरु भएयता चीनमा पहिलो पटक सोमबार शून्य मृत्यु
गुगलपाटी संवाददाताबेइजिङ — कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा सोमबार एक जनाको पनि मृत्यु नभएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । जनवरीयता पहिलो पटक सोमबार कोरोना भाइरसको स्थानीय केस र कसैको पनि मृत्यु नभएको आयोगले जनाएको छ ।
कोरोना संक्रमण नियन्त्रणउन्मुख भएपछि चीनको राजधानी बेइजिङको बजार क्षेत्रमा निस्किएका स्थानीय तस्बिर स् रोयटर्स
सोमबार चीनमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि सबै ‘आयातित केस’ रहेको पनि आयोगले जनाएको छ।
मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३५ रहेको छ। त्यस्तै चीनमा अहिलेसम्म ८२ हजार ६ सय ९७ जनामा संक्रमण पुष्टि भएको र तीमध्ये करिब ७७ हजार निको भएको जोन होप्किन्स विश्वविद्यालयले जनाएको छ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख हुँदै गएपछि चीनको जनजीवन सामान्य हुँदै गएको छ। कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहानमा पनि भोलिबाट लकडाउन हटाइँदैछ। साथै चीनका विभिन्न प्रान्तमा रहेका पर्यटकीय तथा सांस्कृतिक केन्द्रहरु पनि खुला गरिसकिएको छ।
अमेरिकामा संक्रमण तीव्र
चीनमा कोरोना भाइरसको संक्रमण न्यून भइरहेका बेला अमेरिकामा भने तीव्र गतिमा बढिरहेको छ। जोन होप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ८६ पुगेको छ।
अमेरिकामा सोमबार मात्रै एक हजार ३ सय ४३ को मृत्यु भएको छ भने ३० हजारभन्दा बढी संक्रमित भएका छन्। मंगलबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार एक सय ९६ पुगेको छ। अमेरिकाका ५० वटै राज्यमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी न्युयोर्क राज्य प्रभावित भएको छ।
त्यस्तै मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट इटालीमा १६ हजार ५ सय २३, स्पेनमा १३ हजार ३ सय ४१, बेलायतमा ५ हजार ३ सय ८५, फ्रान्समा ८ हजार ९ सय २६, जर्मनीमा एक हजार ८ सय १०, इरानमा ३ हजार ७ सय ३९जनाको मृत्यु भएको छ।
मंगलबार बिहानसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ हजार ८ सयभन्दा बढी छ। त्यस्तै १३ लाखभन्दा बढी संक्रमित हुँदा करिब २ लाख ७७ हजार निको भएका छन्।
स्रोतः कान्तिपुर