दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षीय वृद्धले कोरोनाविरुद्धको लडाइँ जिते
गुगलपाटी संवाददातालन्डन — दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षीय एक व्यक्तिले कोरोना भाइरसविरुद्धको लडाइँ जितेका छन् । दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षीय अल्बर्ट च्याम्बर्स अस्पतालबाट डिस्चार्ज भएका छन् ।
जुलाईमा १०० वर्ष पुग्दै गरेका अल्बर्टलाई अस्पतालका डाक्टर र नर्सले गार्ड अफ् अनर दिँदै सम्मान व्यक्त गरेका थिए। उत्तरी बेलायतको डोनकास्टरमा रहेको टिकहिल अस्पतालमा उपचाररत अल्बर्ट शुक्रबार डिस्चार्ज भएका हुन्। लडेर पाखुरामा चोट लागेपछि उनी तीन हप्ताअघि अस्पताल भर्ना भएका थिए। तर स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो।
अल्बर्टका ४९ वर्षीय नाति स्टिफन गेटरका अनुसार दोस्रो विश्वयुद्धका बेला उननी उत्तरी अफ्रिकामा बम विस्फोटमा घाइते भएका थिए। बम विस्फोटमा घाइते भएका उनलाई दुस्मनले बन्धक बनाएर राखेका थिए। त्यहाँबाट उनलाई नाजीहरुद्वारा नियन्त्रित जर्मनीको स्टालाग एक्स आई बी क्याम्पमा बन्दीका रुपमा ३ वर्ष राखिएको थियो।
विश्वयुद्धपछि उनी लन्डनको राजदरबारको सुरक्षामा खटिएका थिए। ‘सबैले कठिन परिस्थितिको सामना गरिरहेका बेला यो एउटा सकारात्मक समाचार आएको छ,’ अल्बर्टका नाति गेटरेले सीएनएनसँगको कुराकानीमा भनेका छन्।
शनिबार बिहानसम्म बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ८ हजार ९ सय ७४ को मृत्यु भएको छ। त्यस्तै ७४ हजार ६ सय ५ जना संक्रमित हुँदा ५ सय ८८ जना मात्रै निको भएका छन्।
स्रोतः कान्तिपुर