पर्सामा २ महिने शिशु पनि कोरोना भाइरसबाट संक्रमित
गुगलपाटी संवाददाताकाठमाडौं : नेपालमा कोरोना भाइरसले तीन अंक छुन लागेको छ। बुधबार पर्सामा १७ जना पोजेटिभ भेटिएसँगै संक्रमितको संख्या ९९ पुगेको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा १० पुरुष र ७ महिलालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका छन्। देवकोटाका अनुसार ती सबै पर्साका स्थानीयबासिन्दा हुन्। कोरोना संक्रमित पर्साका उनीहरु २ महिने शिशुदेखि ६६ वर्षीय वृद्धसमेत छन्। देवकोटाका अनुसार उनीहरुलाई वीरगञ्जस्थित कोरोना अस्पतालको आइसोलेसनमा ल्याउन लागिएको छ। नेपालमा एकै पटक थपिए १७ जना कोरोना संक्रमित नेपालमा अहिलेसम्म भेटिएका संक्रमितमध्ये २ महिने शिशु सबैभन्दा साना हुन्। यसअघि बाँकेको नेपालगञ्जमा ७ वर्षीयलाई कोरोना पुष्टि भएको थियो। नेपालमा २ महिने शिशुदेखि ८१ वर्षीय वृद्धालाई पनि कोरोना देखिएको छ। काठमाडौंको पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएकी ८१ वर्षीया महिलामा पनि कोरोना देखिएको थियो। तर उनी पाटन अस्पतालमा उपचारपछि घर फिरिसकेकी छन्। त्यस्तै बागलुङकी ६५ वर्षीया महिला पनि कोरोनालाई जितेर घर फर्किसकेकी छन्। बाँकेका ७ वर्षीयसहित २३ जनालाई भने हाल खजुरास्थित कोरोना विशेष अस्पतालमा राखेर उपचार थालिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९९ पुग्दा निको हुनेको संख्या २२ पुगेको छ।