पार्टी एकताप्रति मोहन बैद्यको यस्तो आयो धारणा

गुगलपाटी संवाददाता ओखलढुंगा ।
४ जेष्ठ २०७५ ११:४८

 नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले माओवादी केन्द्र एमालेमा विलय भएको टिप्पणी गरेका छन् ।

प्रदेश १ स्तरीय युवा प्रशिक्षण कार्यक्रममा ओखलढुंगा आएका वैद्यले दुई पार्टीको एकीकरणबाट नेकपा बनेको नभइ माओवादीको एमालेमा विलय भएको दावी गरे ।

उनले दुई पार्टीबीचको एकता नभएर दक्षिणपन्थी अवसरवादी धारबीचको मिलन भएको टिप्पणी गरेका छन् । ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा उनले अब क्रान्तिकारी कम्युनिष्टहरुको धुव्रीकरणमा नयाँ जनवादी धारको विकास गर्ने बताए ।

विगतको झापा आन्दोलनदेखि दस वर्षे जनयुद्ध गरेर आएकाहरु सबै इतिहास भुलेर सत्तामा गएको उनको जिकिर छ ।

वैद्यले वालकृष्ण ढुंगेलको उदाहरण दिँदै आफैंले नेतृत्व गरेको आन्दोलनका कार्यकर्ता जेलमा रहेका बेला त्यही पार्टीका नेता सरकारमा रहनु विचित्र भएको टिप्पणी गरे ।