भैपरी आउने शीर्षकको रकमबारे समितिको चासो
गुगलपाटी संवाददाता हेटौंडा,४ जेठतीन नम्बर प्रदेशसभाको सार्वजनिक लेखा समितिले प्रदेश सरकारले भैपरी आउने शिर्षकमा ठूलो रकम राखेको बारे चासो ब्यक्त गरेको छ । समितिले आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलसँग चालु आर्थिक बर्ष २०७४÷७५ को आय ब्यय विवरणको भैपरी आउने चालु खर्च, भैपरी पूँजीगत खर्च र विविध शिर्षकबारे जवाफ मागेको हो ।मन्त्री ढुङ्गेलले शुक्रबार समितिको बैठकमा उपस्थित भएर लिखित जवाफ दिँदै अर्थ बजेट (विविध खर्च) छुट्टै बजेट शिर्षक भएकाले अर्थ मन्त्रालयको नाममा नभई सरकारको बचत रकम भएको जवाफ दिएका दिए । बैठकमा सहभागि भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले चालु आर्थिक वर्षमा उक्त रकम खर्च नहुने बताउनुभयो ।
चालु आर्थिक वर्षको बजेटमा संरचना नभएको र समय अभावका कारण अनुदान दिन नमिल्ने भएकाले बजेट छुट्याए पनि शिर्षक नछुट्याइएको मन्त्री ढुङ्गेलको भनाई छ । चालु आर्थिक वर्षको बजेमा सबैभन्दा धेरै पूँजीगतर्फ एउटै शिर्षकमा भैपरी आउने पूँजीगततर्फ ३३ करोड ७० लाख र भैपरी आउने चालु खर्चमा ३० करोड बजेट छुट्याइएको छ ।विविध खर्च उपशिर्षकबाट स्वीकृत भएका मनोरञ्जन, प्रदर्शन, चियापान र भोजहरु, कार्यालय सुरक्षा, स्वागत तथा सत्कार लगायत शिर्षकमा खर्च गर्न सकिने मन्त्री ढुङ्गेलले बताउनुभयो । चालु आर्थिक बर्षमा प्रदेश सभा सचिवालय र प्रदेशका ७ मन्त्रालयका लागि ६५ लाख विविध खर्चमा छुट्याईएको छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि थप विविध खर्च करिब ६ लाख ३७ हजार छुट्याईएको छ ।
समितिका सभापति न्हुक्षे नारायण श्रेष्ठले सरकारले गरेका कामहरुबारे चासो राख्नु आफुहरुको कर्तब्य भएको बताउनुभयो ।चालु आर्थिक बर्ष २०७४÷७५ का लागि आय ब्यय विवरण बैशाख १४ गते प्रदेश सभामा पेश भई पारित भई सकेको छ । चालु आर्थिक वर्षको लागि संघीय सरकारको प्राकृतिक स्रोत तथा वित्त आयोगबाट समानीकरण अनुदानतर्फ प्राप्त भएको एक अर्व दुई करोड पाँच लाख रकममध्ये सरकारले ५५ करोड ४८ लाख ६० हजार चालु र पूँजिगततर्फ ४६ करोड ५६ लाख ४० हजार रुपैयाँ बिनियोजन गरिएको थियो ।