देउवाले भने : सरकारले नैतिक आधार गुमायो, असफल भइसक्यो

गुगलपाटी संवाददाता
२६ बैशाख २०७७ ११:२७

काठमाडौं :  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको विषम परिस्थितिमा काम गर्न नसकेर सरकार पूर्ण रुपमा असफल भइसकेको आरोप लगाएका छन्। आजबाट सुरु भएको संसदको बर्खे अधिवेशनमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्। ुयस्तो विषम परिस्थितीमा काम गर्न सरकार पूर्णरुपमा असफल भएको छ। सरकारले नागरिकलाई अनूभूति गराउन सकेको छैन। स्वास्थ्य तथा सुरक्षाकर्मीहरुको व्यक्तिगत सुरक्षामा ध्यान दिएन,’ देउवाले भने, ‘परिक्षण दर कम भयो। परिक्षण सामाग्रीको विश्वसनीयतामा प्रश्‍न उठेको छ। विदेशमा विचल्लीमा परेका नागरिकको उद्धारमा कुनै योजना छैन। कोरोनाबाट असर गर्ने क्षेत्रको तत्कालीन र दीर्घकालीन रणनीति बनाउन सकेको छैन।’ उनले कोरोनाको कहरको बेला भ्रष्टाचार मौलाएको आरोप पनि लगाए। ‘यस्तो अत्यन्त विषम अवस्थामा भ्रष्टाचार हुनु, सरकार संविधानको भावना विपरीत क्रियाकलापमा व्यस्त हुनु, सांसदको अपहरण हुनु, घटना स्वीकार्य हुँदैन। सरकारले यी कुराका आधारमा नैतिक आधार गुमाएको ठहर गर्दछ।’ उनले आगामी आर्थिक वर्षको बजेट कोरोना केन्द्रित बनाउन पनि सरकारलाई सुझाव दिए। त्यस्तै संकटको बेला कांग्रेसले सरकारलाई सहयोग गरेको पनि उनले बताए। ‘कोरोनाको संकटको बेला सरकारसँगै रहेर पनि राष्ट्रिय एकता गरेर कांग्रेसले जिम्मेवार भूमिका निभाएको छ।’ सरकारले पर्याप्त राहत नदिँदा, पैदल हिँडेरै हजारौँ श्रमिक गाउँ जान बाध्य भएको उनको भनाई छ। ‘सरकारले पर्याप्त राहत नदिँदा, पैदल हिँडेरै हजारौँ श्रमिक गाउँ जान बाध्य भए। सरकार न खान दिने, न गाउँ जान दिने सरकारले आहात तुल्यायो’ उनले भने। उनले अहिलेको अवस्थामा सुकुम्बासी आयोग गठन गर्नुको तारताम्य नभएको पनि बताए। कोरोनाको कारण थलिएका कृषक, उद्योगी व्यवसायी सबैलाई उचित ढंगबाट राहतको व्यवस्था गर्न उनले सरकारसँग माग गरे।