अझै केही दिन मौसम खुल्दैन : पूर्वानुमान महाशाखा
गुगलपाटी संवाददातानेपालमा हाल बदली अवस्थामा रहेको मौसम अझै केही दिन पूर्ण रुपमा नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले विगत केही दिनयता नेपालको मौसम बदली छ । विगत केही दिनदेखि ठाउँठाउँमा पानी पर्ने र घाम लाग्ने क्रम चलिरहेको छ ।
‘पश्चिमी वायुको प्रभावको कारण सोमबार पनि दिउँसो र साँझ पख काठमाडौँ उपत्यकासहित देशको मध्य र पूर्वी पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए । ‘यो क्रम अझै दुईतीन दिनसम्म जारी रहने देखिन्छ,’ नयाँ पत्रिकासँग उनले भने ।
महाशाखाका अनुसार सोमबार नेपालको पश्चिमी क्षेत्रको मौसम केही खुले पनि काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रको मौसम बदली छ । कतै घाम लागेको छ, कतै बदलीको अवस्था छ ।
महाशाखाका अनुसार सोमबार रातिबाट नेपालको पूर्वी क्षेत्रहुँदै पश्चिमी न्यून चापीय प्रणाली बाहिरिँदै छ । तर, नेपालमा सक्रिय अवस्थामा रहेको स्थानीय र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव भने अझै केही दिनसम्म कायमै रहने मौसमविद् प्रधानांगले जानकारी दिए ।
सोमबार दिउँसो र साँझ पख देशका अधिकांश भूभागमा सामान्य बदली रही पहाडी भूभागका केही स्थान र तराईका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंगलबार पनि देशका अधिकांश भूभागमा सामान्य बदली हुने छ । भोली ९मंगलबार० पनि केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।
सोमबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९ दशमलव ६ डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहने अनुमान छ ।