मान्छेबाट उपेक्षित मजदुर भद्रकाली मन्दिरको शरणमा
गुगलपाटी संवाददाताशनिबार रातको साढे ११ बजे, चकमन्न आकाशमा बादलका मसिना धर्सा देखिएका छन् । पानी पर्ने छाँट छैन । भद्रकाली मन्दिरको आँगनमा सुतिरहेका छन् पदम तामाङ र उनका भाइ छिरिङ । एक जोर कपडा बोेकेको झोला सिरानी हालेर निदाइरहेका यी दाजुभाइले कार्टुनलाई ओछ्यान बनाएका छन् । मैलो अनि पातलो तन्नाजस्तो च्यादर ओढेका छन् ।
कोरोना संक्रमणबाट जोगिन सरकारले लकडाउन सुरु गरेदेखि दाजुभाइको दिनरात सडकमै बित्छ । राहतमा बाँडिएको खाना खान्छन् । भोक लागेको समयमा उनीहरूले खान पाउँदैनन् । त्यसैले खाना पाएको समयमा एकैपटक धेरै खान्छन् । भोक लागेको समयमा खानका लागि खाना प्याक पनि गर्न लगाउँछन् । पदम र छिरिङको सिरानीनेरै खानाका पोका पनि छन् । अलिक पर एउटा कुकुर बसेको छ । खानातर्फ हेर्दै कुकुर बारम्बार भुकिरहन्छ । नयाँ पत्रिका टोली मन्दिर परिसरमा पुग्दा कुकुर जोडजोडले भुक्न थाल्छ । कुकुरको भुकाइ सुनेर बिउँझिएका पदम हामीलाई देख्नेबित्तिकै डराउँछन् । भन्छन्, ‘हजुर पुलिसले भनेर हामी यहाँ सुतेका हौँ ।’ तामाङ दाजुभाइ बिउँझेपछि छेउछाउमा सुतेका अरू पाँचजना पनि चलमलाउँछन् । जर्याकजुरुक्क उठ्दै भयभीत नजरले हेर्छन् ।
तामाङ दाजुभाइको घर काभ्रेको फलाँटे हो । लकडाउन भएदेखि सडकको वास भएका तामाङ दाजुभाइको गौरीघाटमा कोठा थियो । ‘घरबेटीले बस्न दिएनन्,’ पदम डराउँदै भन्छन् । कोठामा रासन, ओढ्ने ओछ्याउने सबै थियो । तर, उनीहरू आफ्नै कोठामा समेत बस्न पाएनन् । गत २३ फागुनमा पदम, उनकी श्रीमती र छिरिङ कलंकीबाट गौरीघाट कोठा सरे । २५ सय महिनाको भाडा तिर्ने गरी गौरीघाट सरेको पदम बताउँछन् । ८ चैतमा उनले श्रीमतीलाई घर पठाए । काम पाइने आशमा दाजुभाइले काठमाडौंमै बस्ने निधो गरे ।
निर्माण मजदुरको काम गर्ने उनीहरू कामको खोजीमा निस्किए । सरकारले ११ चैतमा लकडाउन घोषणा गर्यो । कामको खोजीमा निस्किएका उनीहरू सडकमै अलपत्र परे । प्रहरीको आँखा छल्दै, लुक्दै उनीहरू १३ गते साँझ आफ्नो कोठा पुगे । मूलगेटमा ताल्चा लगाइएको थियो । कोठामा आरामले बस्न पाउने आशमा पुगेका तामाङ दाजुभाइ घरबेटीको व्यवहार सुनेपछि तीनछक्क परे ।
‘घरबेटीलाई ढोका खोलिदिनुहोस् भन्यौँ, तर घरको छतबाट घरबेटीले जवाफ दिए, जहाँसुकै जाऊ, मेरो घरमा बस्न दिन्नँ,’ तामाङ दाजुभाइले पीडा सुनाए, ‘आज एक रात त बस्न दिनुहोस्, बरु भोलि हामी अन्तै कोठा खोजौँला भनेर बिन्ती गर्दा पनि बस्न दिइएन ।’ बाहिर डुलेर आएको मान्छेबाट कोरोना भाइरस सर्छ भनेर घरमा बस्न नदिने घरबेटीको अडानले उनीहरू सडकमा पुगेका हुन् ।
आफ्नो कोठामा बस्न नपाएपछि त्यो रात उनीहरूले गुहेश्वरी मन्दिरको छेउमा रात बिताए । ‘भोलिपल्ट बिहान ६ बजे गेटमा गयौं । घरबेटी छतमा थिए, तर ११ बजेसम्म पनि गेट खोलेनन्,’ उनीहरू भन्छन् । झन्डै १२ बजेतिर घरबेटी आफैँले तामाङको कोठाको ढोका खोले, एउटा भोलामा तामाङ दाजुभाइका एकरएक जोर लुगा हालेर छतबाट फालिदिए । घरबेटीले छतबाट फालिदिएको त्यही झोला अहिले दाजुभाइको सिरानी भएको छ । छतबाट झोला फाल्दै घरबेटीले धम्की दिए, ‘पैसा नल्याइकन आयौ भने चम्चा पनि लान दिन्नँ । खुरुक्क पैसा लिएर आउनू ।’
सडकमै लुटिए मजदुर
घरबेटीले कोठामा बस्न नदिएपछि तामाङ दाजुभाइले कालीमाटी टंकेश्वर मन्दिरमा १२ दिन बिताए । कैयौँ दिन भोकभोकै बसे । ‘१५ चैतबाट मात्र खाना भेटायौँ,’ तामाङ भन्छन् । लकडाउनको यो कहरमा रात मात्र होइन दिन बिताउन पनि उनीहरूले प्रहरीसँग लुकामारी खेल्नुपर्यो । प्रहरीको आँखा छल्दै दिनभर बिताए पनि उनीहरूले हरेक बिहान र बेलुका टुँडिखेल पुग्नैपर्थ्यो । किनभने टुँडिखेलमा खाना खान पाइन्थ्यो । टुँडिखेलमा खान पाउने भएपछि उनीहरूले वास पनि नजिकै खुलामञ्च रोजे । तर, खुलामञ्चमै तामाङ दाजुभाइ लुटिए । ‘मोबाइल र चार÷पाँच सय रुपैयाँ थियो, त्यो पनि लुटे,’ तामाङ भन्छन् ।
तामाङ दाजुभाइको सामान लुटिँदा नुवाकोटका सञ्जीव थपलियाले नाक नै फुट्ने गरी कुटाई खाए । भद्रकाली मन्दिर परिसरमै सुतिरहेका थपलिया भन्छन्, ‘गोजीमा एक सय ९० रुपैयाँ थियो त्यो लुटे, मोबाइल र चप्पल पनि लगे ।’ नाक र मुखमा चोट लागेकाले होला थपलियाको बोली पनि मुस्किलले निस्कन्छ । निर्माण मजदुरको काम गर्ने थपलियाको परिवार नुवाकोट गेर्खुटारमा बस्छ । थपलिया सडकमा अलपत्र परेको उनको परिवारलाई थाहा छैन ।
खान पाइने आसमा पैदलै बनेपाबाट काठमाडौंसम्म
अर्घाखाँचीका ५७ वर्षीय गिरिराज पोखरेल लकडाउनअगाडिसम्म बागबजारको अर्ना गेस्ट हाउसमा भान्सेको काम गर्थे । एक हप्तामै लकडाउन खुल्छ भन्ने आशले गेस्ट हाउसमै बसेका उनलाई १८ चैतपछि प्रहरी र गेस्ट हाउस मालिकले निकालिदिए । त्यसपछि उनको पनि सडकको वास भएको छ । खुलामञ्चको बसाइमा पोखरेलको पनि फोन लुटियो । फोन लुटिएपछि सबैको घरमा सम्पर्कविच्छेद भएको छ । ‘सम्पर्क छैन, घरमा चिन्ता मानेका होलान्,’ पोखरेल भन्छन् ।
फोनमा परिवारसँग सम्पर्क हुन्जेलसम्म पनि यी कसैले पनि आफू अलपत्र परेको कुरा घरमा सुनाएका थिएनन् । ‘घरमा चिन्ता मान्छन् । छरछिमेकले पनि कमाउन गएको मान्छेको हालत हेर भन्दै खिसी गर्लान् भन्ने डर,’ सञ्जीव थपलिया भन्छन् ।
लकडाउन लम्बिँदै गएपछि हजारौँ मजदुर हिँडेर आफ्नो घर पुगेको देख्दा त मनीष लिम्बूलाई पनि पैदलै घर जान मन लागेको थियो । ‘हातमुख मात्र लिएर त घर कसरी जानु, जहान, परिवारले आस गरेका हुन्छन्,’ धरानका लिम्बू भन्छन् । बनेपा नालामा निर्माण मजदुरको काम गर्ने लिम्बू खान पाइने आशमा बनेपाबाट हिँड्दै काठमाडौं आएका हुन् । वीर अस्पतालको फोहोरबाट उठाएको म्याटमा एक जोर लुगाको भरमा सुतिरहेका लिम्बूको धरानमा चारजनाको परिवार छ । रत्नपार्क र वीर अस्पतालआसपास रात बिताउने ठाउँ खोजिरहेका छन् मजदुर बुद्धिमान थामी र स्वस्तिका थामी । सिन्धुपाल्चोक तातोपानीका थामी दम्पतीसँग पाँच वर्षको बच्चा पनि छ । २५ चैतमा लकडाउन खुल्छ भन्दै पैदलयात्रा गरेर काठमाडौं आएका थामी दम्पती ओछ्याउनलाई जम्मा पारिएको कार्टुनको भारी बोक्दै रात बिताउने ठाउँको खोजीमा हिँडिरहेका छन् । हप्ता दिनदेखि यसरी नै दिनरात बिताइरहेका थामी दम्पतीलाई आवारा केटाहरूको डर छ । श्रीमती, बच्चा र आफूलाई आवारा केटाहरूबाट जोगाउँदै हिँडिरहेका बुद्धिमान् श्रीमती र बच्चाको सुरक्षाका निम्ति रातभर जागै बस्छन् ।
काम पाउने आसमा ओखलढुंगा पुगे, नपाएपछि पैदलै काठमाडौं फर्के
रातको पौने १ बजे पशुपति आर्यघाटपारिपट्टिका मन्दिरमा सुत्ने तर्खर गर्दै छन् शंकर लामा र उनका चारजना साथी । लामाको टोली ओखलढुंगाबाट पैदल यात्रा गरेर काठमाडौं आएको हो । ३ चैतमा महिनाको ३० हजार रुपैयाँ पाउने आशमा काठमाडौंबाट ओखलढुंगा गएका लामा र उनका साथीहरूले ओखलढुंगा पुगेर काम गर्न पाएनन् । ‘काम नभएपछि, खान पाइएन, अनि हिँड्दै काठमाडौं आएको,’ लामा भन्छन्, ‘कमाउन गएको मान्छे रित्तो हात फक्र्यो भन्लान् । लकडाउन खुलेपछि यतै काम गरेर, गाडीभाडा, खाने खर्च बनाएर घर जान्छु ।’
ओखलढुंगाबाट काठमाडौंसम्मको यात्रा उनीहरूका लागि सजिलो भने थिएन । ‘भोक अनि बाध्यताले जे पनि गराउँदो रहेछ,’ डोल्पाका बादल श्रीनेत भन्छन् । गोजीबाट पाँच रुपैयाँका दुईवटा नोट देखाउँदै उनी भन्छन्, ‘कमाइ भनेको यति हो ।’ ओखलढुंगादेखि काठमाडौंसम्मको यो यात्रामा उनीहरूले भोक, प्यास, घामपानी मात्र होइन, कुटाइ पनि सहे । पानी परेर ओत लाग्न बनेपाको यात्रु प्रतीक्षालयमा बसेका श्रीनेतको सर्ट च्यातिने गरी आवारा केटाहरूले कुटे ।
१६ चैतमा ओखलढुंगाबाट हिँडेका लामा र उनका साथीहरूलाई काठमाडौं पुग्न एक हप्ताभन्दा बढी लाग्यो । बाटो हिँड्दाहिँड्दै दिन–बार गन्नसमेत छाडिदिए । ‘तीन दिनसम्म त खानै पाएनौँ,’ लामा भन्छन्, ‘पैसा नभएर बाटोमा फालेका चाउचाउको मसलामा पानी हालेँ, केराका बोक्रा खाएर काठमाडौं पुग्यौँ ।’ पशुपतिमा आरती गर्दा स्पिकर बजाउन बिजुलीको पोलमा बनाइएको मल्टिप्लगमा मोबाइल चार्ज गर्ने प्रयासमा लागेका छन् सोलुखुम्बुका विकास राई । उनले फोन चार्जमा राखिनसक्दै पशुपति क्षेत्रका एक युवक आएर थर्काउँछन् । काम र खानाको खोजीमा भौँतारिरहेका यी पाँचजना कसैले पनि आफ्नो घरमा आफू अलपत्र परेको कुरा सुनाएका छैनन् । आफ्नो दुःख सुनाएर परिवारलाई पीडा दिनुभन्दा दुःख सहेर भए पनि लकडाउन खुलेपछि दुई चार पैसा घरमा लगेर जाँदा परिवार खुसी हुने अपेक्षामा यी मजदुर यस्तो कष्ट सहिरहेका छन् ।