दुई संक्रमित भेटिएपछि दुवाकोट र शंखधर चोक क्षेत्रमा सिल
गुगलपाटी संवाददाताभक्तपुर : दुईजना कोरोना संक्रमित भेटिएपछि भक्तपुरको दुवाकोट र नयाँथिमीस्थित शंखधर चोकक्षेत्र सिल गरिएको छ। दुवकोटमा बस्दै आएका सशस्त्र प्रहरीका जवान र नयाँथिमीमा बस्दै आएकी स्टाफ नर्समा मंगलबार राति कोरोना पुष्टि भएपछि दुवै स्थानलाई सिल गरिएको हो। स्थानीय प्रशासनले मध्यपुर थिमि नगरपालिकाको शंखधर चोक क्षेत्र र चाँगुनाराण नगरपालिका–१, दुवाकोट क्षेत्रलाई सिल गरेको हो। दुवाकोटमा बस्दै आएका सशस्त्र प्रहरीका २७ वर्षीय जवान त्यहीँ रहेको सशस्त्र प्रहरीको नीलवाराही गणमा कार्यरत थिए। उनी हाल पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ तैनाथ थिए। आरोग्य फाउन्डेसन ललितपुरमा कार्यरत ती नर्स सुनसरीबाट मोटरसाइकलमा आएर साथीको कोठामा बसेकी थिइन्। साथी पनि भक्तपुरकै मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्स हुन्। साथीसँग बसेकी उनको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो। दुवैजना अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भइसकेका छन्। अहिले उनीहरु दुवैको ट्राभल हिस्ट्री पत्ता लगाएर ुकन्ट्याक्ट ट्रेसिङ भइरहेको बताइएको छ।
स्रोतः थाहाखबर