बिवादकाबीच काम चलाउ सरकारद्वारा महत्वपूर्ण निर्णय

गुगलपाटी संवाददाता
१३ पुष २०७४ १०:४४

काठमाण्डौं/जाँजा जाँदै कामचलाउ सरकारले महत्वपूर्ण निर्णयहरु गरेको छ । वाम गठवन्धन आवद्ध दलको विरोधकाबीच सरकारले दीर्घकालीन महत्व राख्ने थप केही निर्णय गरेको हो ।
निर्वाचनबाट नयाँ जनादेश प्राप्त भएको भन्दै गबन्धन आवद्ध एमाले र माओवादी केन्द्रले काम चलाउ अवस्थामा पुगेको सरकारलाई दीर्घकालिन महत्व राख्ने कुनै निर्णय नगर्न दबाव दिँदै आएका थिए । आज बसेको मन्त्रिपरिषद बैठकले गम्भीर बिरामीलाई मासिक भत्ता दिने निर्णय गर्नुका साथै स्वास्थ्य मन्त्रालयमा सचिव नियुक्त गरेको हो ।
उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठका अनुसार मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका गम्भीर बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय भएको छ । यस्तै सरकारले दाङको नेपाल संस्कृत विश्वविद्यालयका तीन वटा आंगिक क्याम्पसलाई एक सय जना दरबन्दी थप गर्ने निर्णय गरेको छ । यस्तै पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित चिकित्सा शिक्षा सम्वन्धी जाँचबुझ आयोगको म्याद बैठकले दुई महिना थप गर्ने निर्णय गरेको छ । चिकित्सा शिक्षा क्षेत्रमा भएका विकृतिको छानबिन गरी दोषीलाई कारबाहीका लागि सिफारिस गर्न गठित आयोगको म्याद गत मंसिर १३ गते सकिएको थियो । बैठकले स्वास्थ्य सचिवमा डा। पुष्पा चौधरीलाई नियुक्त गरेको छ ।
किरण रेग्मीले गत मंसिर १८ गते अनिवार्य अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो । वरियतामा पहिलो नम्बरमा रहेकी चौधरीले नै निमित्त सचिवको कार्यभार सम्हाल्नु भएको थियो । बैठकले कोरिया सरकारको काठमाडौं विश्व विद्यालयको अनुसन्धान तथा तालिम विकास केन्द्र स्थापनाका लागि उपलब्ध गराउने करीब १ अर्ब ४ करोड रुपैयाँ अनुदान सहायता पनि स्वीकृत गरेको छ । सरकारले दाङको नेपाल संस्कृत विश्वविद्यालयका तीन वटा आंगिक क्याम्पसलाई एक सय जनाको दरबन्दी पनि थप गरेको छ ।