निर्माण व्यवसायी संघले निर्माण सामाग्रीमा मुल्य वृद्धि रोक्नुपर्ने माग गरे
गुगलपाटी संवाददाताहेटौंडाः निर्माण सामाग्री र ढुवानी भाडामा अप्रत्यासित मुल्य वृद्धि भएपछि निर्माण व्यवसायी संघ मकवानपुरले पहिले कै मुल्यमा निर्माण सामाग्री र ढुवानी भाडा कायम गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापनपत्र बुझाएको छ ।
जेस्ठ २२ गते बिहिबार निर्माण व्यवसायी संघले बुझाएको ज्ञापनपत्रमा मुल्य वृद्धिले सर्वसाधारण नागरिक र निर्माण व्यवसायीहरु मर्कामा परेको उल्लेख गरिएको छ । शिवम् सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, हेटौंडा सिमेन्टले एक्कासी प्रतिबोरा ८० देखि १ सय २० रुपैया सम्म मुल्य वृद्धि गरिएको र फलामे डण्डीहरुमा पनि १० देखि १५ रुपैयासम्म प्रतिकेजी बढाएको ज्ञापनपत्रमा भनिएको छ । यसैगरि ढुवानी सेवाका कम्पनिहरुले पनि यसको फाइदा उठाएर ढुवानी भाडामा वृद्धि गरेको जनाइएको छ ।
विश्व बजारमा पेट्रोलियम पदार्थको मुल्य घट्ने क्रममा रहेता पनि ढुवानी भाडामा मुल्य वृद्धि भएकोमा आफुहरुको ध्यानाकर्षण भएको ज्ञापनपत्रमा छ । एकातिर कोरोना भाइरस (कोभिड १९) को कहर छ । सामाजिक दुरी कायम गर्दै निर्माण व्यवसायीहरु आफुले दिनुपर्ने सेवामा तल्लिन छन् । यस्तो बेलामा सरकारले सहयोग गर्नुपर्ने ठाँउमा मौन बस्नुले व्यवसायीहरु प्रति वास्ता नगरेको बुझिन्छ । संघको गुनासो छ ।