प्रगति माविले वैकल्पिक प्रणालीबाट शिक्षण सुरु गर्ने

गुगलपाटी संवाददाता
२६ जेष्ठ २०७७ १२:१८

हेटौँडाः हेटौंडा ९ स्थित प्रगति माविले असार १ गतेदेखि वैकल्पिक प्रणालीबाट विद्याथीको सिकाईलाई सहजीकरण गर्ने भएको छ । सरकारले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयले वैकिल्पक प्रणालीबाट सिकाई सहजीकरण गर्न लागेको हो ।

हाललाई दुई प्रकारमा विद्यार्थीको वर्गीकरण गर्ने र सोही अनुसार सिकाइ प्रक्रियालाई सहजीकरण गर्ने योजना बनाएको विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभयो । सरकारले विद्यार्थीलाई ५ प्रकारमा वर्गीकरण गरी सिकाइमा सहजीकरण गर्ने निर्देशिका जारी गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाले पनि सोही प्रकृतिको परिपत्र जारी गरिसकेको छ । सोही कुरालाई मध्यनजर गर्दै प्रगति माविले प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीको समूह र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीको समूह पहिचान गरी सिकाइमा सहजीकरण गर्ने योजना बनाएको छ ।

२०७६ सालको विद्यार्थी अभिभावकको अभिलेखका आधारमा र विद्यार्थीलाई पुस्तक वितरण गर्दा विद्यार्थीको थप अभिलेख लिई वर्गीकरण गरिने प्रधानाध्यापक निरन्जनप्रसाद ढकालले बताउनुभयो । इन्टरनेटको पहुँच भएका विद्यार्थीलाई लागि गुगल क्लासरुम, जुम एपलगायतका माध्यमबाट सिकाइमा सहजीकरण गरिने र इन्टरनेट पहुँच नभएका विद्यार्थीहरुका लागि टेलिफोन तथा घरमै पुगेर सहजीकरण गरिने उहाँले जानकारी दिनुभयो ।

शिक्षकलाई आफ्नो क्षेत्रका विद्यार्थीलाई सहजीकरणको जिम्मेवारी दिइने तथा सम्बन्धित स्थानका शिक्षकले आफ्नो विद्यालयभन्दा बाहिरका विद्यार्थीलाई पनि सिकाइमा सहजीकरण गर्ने सहायक प्रधानाध्यापक किशोर पराजुलीले बताउनुभयो । प्रगति मविले जेठ २८ गतेदेखि नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई पुस्तक वितरण गर्न लागेको छ । प्रगति माविमा कक्षा नर्सरीदेखि १२ कक्षासम्म गरी १२ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।