अभावमा परेका यौनिक अल्पसंख्यकलाई ड्रिम स्क्वाड मकवानपुरको सहयोग

गुगलपाटी संवाददाता
२८ जेष्ठ २०७७ ०७:४८

हेटौँडा : लकडाउनका कारण समस्यामा परेकालाई राहत वितरण गर्दै आईरहेको ड्रिम स्क्वाड मकवानपुरले आज फ्रेण्ड्स हेटौँडा मार्फत ७ जना समलिंगी र तेस्रोलिंगीहरुका लागि खाद्यसामग्री सहयोग गरेको छ । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई बिहान र बेलुकाको छाक टार्न समस्या भएको गुनासो आएपछि अभावमा परेका ७ जनालाई खाद्यान्न सहयोग गरिएको अभियान्ता बालकृष्ण दाहालले बताए ।
ड्रिम स्क्वाड मकवानपुरले चामल १०० केजी, तेल १४ लिटर, दाल १४ केजी, चिउरा ७ केजी, दालमोठ ७ प्याकेट, मस्यौरा ७ केजी, चिनी ७ केजी, नुन १४ केजी, आलु १४ केजी, प्याज ७ केजी, बेसार ७ प्याकेट र मसला ७ प्याकेट गरी १५ हजार बराबरको खाद्यसामग्री सहयोग गरेको हो । हस्तान्तरण कार्यक्रममा यौनिक तथा लैगिक अल्पसंख्यकहरुको हकहितका लागि काम गर्दै आईरहेको फ्रेण्ड्स हेटौँडा मकवानपुरका संयोजक सुरज थापा किरणले यस विपदको घडिमा राज्यको तर्फबाट यौनिक र लैंगिक अल्पसंख्यकको लागि केही नगरेको बताए । उनले समलिंगी तेस्रोलिंगीहरु पनि यही देशको नागरिक भएको बताउँदै साथीहरु मिलेर सहयोग गरेकोमा ड्रिम स्क्वाड मकवानपुरप्रति आभार व्यक्त गरे ।
ड्रिम स्क्वाड मकवानपुरले यसअघि नै हेटौँडा ११ मा रहेको मामाघर नेपाल र हेटौँडा १५ मा रहेको दिव्यसेवा निकेतन वृद्धाश्रमलाई ४०–४० हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरिसकेको छ ।