क्वारेन्टाइनमा सर्पले टोकेका व्यक्तिमा कोरोना संक्रमण

गुगलपाटी संवाददाता
२८ जेष्ठ २०७७ ०८:०७

वीरेन्द्रनगर — बराहताल गाउँपालिका–४ स्थित भेरी माविको क्वारेन्टाइन बसेका ५० वर्षीय एक व्यक्तिलाई सोमबार राति सर्पले टोक्यो । उनलाई मंगलबार बिहान कर्णाली प्रदेश अस्पतालमा पुर्‍याइयो । तर, उनलाई अस्पताल पुर्‍याउने मान्छेहरुले उनी क्वारेन्टाइनमा बसेका हुन् भन्ने सूचना दिएनन् ।

स्वास्थ्यकर्मीले सामान्य बिरामीलाई जसरी उपचार गरेपछि मात्र उनी क्वारेन्टाइनबाट ल्याइएका हुन् भन्ने थाहा भयो । ‘सोधपुछ गर्ने क्रममा सुरुमै उनी आरडीटी पोजिटिभ रहेका थाहा भयो,’ अस्पतालका निर्देशक डा। डम्बर खड्काले भने, ‘पछि पीसीआर गर्दा त कोरोना नै पुष्टि भयो ।’

यो घटनापछि अस्पतालमा त्रास छाएको छ । उपचारमा संलग्न दुई जना चिकित्सक, तीन जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीलाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको आकस्मिक सेवा पनि बन्द गरिएको छ । ‘सुरुमै क्वारेन्टाइनबाट ल्याएको भनेको भए पीपीई लगाएर सावधानीका साथ उपचार गरिन्थ्यो,’ डा। खड्काले भने, ‘झुक्याएर अस्पतालमा ल्याउँदा उपचारमा संलग्न स्वास्थ्यकर्मी र अन्यलाई पनि जोखिममा पारेको छ ।’

कोरोना संक्रमित ती व्यक्ति दृष्टिविहीन रहेका छन् । यसले गर्दा उनको स्याहार–सुसारमा संलग्नदेखि क्वारेन्टाइनबाट यहाँसम्म ल्याउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने अवस्था रहेको डा। खड्काले बताए ।