मकवानपुरमा लकडाउनमा १५ वटा बालबिवाह रोकिए
गुगलपाटी संवाददातामकवानपुर जिल्लामा पछिल्लो ५ महिनामा ५० वटा बालबिवाहका घटना रोकिएको सिविन बाल हेल्पलाइनले जनाएको छ । लकडाउनको समयमा १५ वटा बालबिवाहका घटना रोकिएको जानकारी गराउँदै सिविन बाल हेल्पलाइनकी अधिकृत सम्झना अधिकारीले भन्नुभयो, ‘बालबिवाह गैरकानुनी कार्य हो भनेर यत्रो हल्लाखल्ला हुँदा पनि बालबिवाह भइरहेकै छ ।’
बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकामा लकडाउनका समयमा ६ वटा बालबिवाह रोकिएको छ । लकडाउनको अवधिमा बकैया गाउँपालिकामा ३, मकवानपुरगढी गाउँपालिकामा ३, मनहरी गाउँपालिकामा २ र भीमफेदी गाउँपालिकामा एउटा बालबिवाहको घटना रोकिएको सिविन हेटौंडाले जनाएको छ । बालबिवाह हुन लागेको सुचना पाएलगत्तै स्थानीय तहका प्रमुख, सम्बन्धित क्षेत्रका प्रहरी प्रमुख र अधिकारकर्मीहरुको पहलमा बालबिवाह हुन लागेको केटा र केटी दुबै परिवारलाई सम्झाई बुझाई बिवाह रोक्न सफल भएको अधिकृत अधिकारीको भनाइ छ । नेपाल सरकारले २० वर्षभन्दा कम उमेरमा हुने बिवाहलाई मन्यता दिँदैन । बालबिवाह गर्ने, गराउने दुबै पक्षलाई कारबाही हुने व्यवस्था छ ।
सन् २०२० यता ५ महिनामा सबैभन्दा बढी मकवानपुरको पूर्विक्षेत्र बकैया गाउँपालिकामा १६ वटा बालबिवाहको घटना रोकिएको छ भने सबैभन्दा कम ईन्द्रसरोवर गाउँपालिकामा र बागमती गाउँपालिकामा १र१ वटा बालबिवाहको घटना रोकिएको छ । त्यसैगरी हेटौंडा उपमहानगरपालिकामा १०, भिमफेदीमा १०, मकवानपुरगढीमा ६, राक्सिराङमा ३, मनहरीमा २ र कैलाश गाउँपालिकामा २ बालविवाहका घटना रोकिएका छन् । ५० वटा बालबिवाह मध्ये १४ किशोरका र ३६ किशोरीको रहेको छ । बालबिवाह बढ्नुमा पारिवारिक मेलमिलापमा कमी हुनु, अरुको देखासिकी गर्नु र खराब साथीको संगत बढि देखिएको सिविन बाल हेल्पलाइनकी अधिकृत अधिकारीले जानकारी दिनुभएको छ ।
सन् २०१९ मा मकवानपुर जिल्लामा २६ वटा बालबिवाहका घटना रोकिएको सिविन बाल हेल्पलाइन हेटौंडाले जनाएको छ । यस अवधिमा सबैभन्दा बढी मकवानपुरको पूर्विक्षेत्र बकैया गाउँपालिकामा १० वटा बालबिवाह रोकिएको थियो भने सबैभन्दा कम बागमती गाउँपालिकामा एउटा बालविवाह रोकिएको थियो । त्यसैगरी मनहरी गाउँपलिकामा ४, थाहा नगरपालिकामा ३, भिमफेदीमा २, राक्सिराङमा २, हेटौंडा उपमहानगरपालिकामा ४ बालबिवाह रोकिएको अधिकृत अधिकारीले बताउनुभएको छ । २६ वटा बालबिवाह मध्ये ६ किशोरका र २० किशोरीको रहेको थियो ।
बालबिवाहका घटना बढी देखिएको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे भन्नुहुन्छ, ‘हामीले बालबिवाह नियन्त्रणका लागि भनेर वडा सदस्यहरुलाई टोल–टोलको निगरानी गर्न भनेका छौं । तै पनि बालबिवाहका घटना रोकिएको छैन ।’ विद्यालयमा आधारभूत तहमा पढ्ने केटाहरु लागुऔषधमा फसेको र केटीहरु बालबिवाह गरी हिँडेको घटनाले चिन्तित् तुल्याएको उपाध्यक्ष बोलखेको भनाइ छ । ‘प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्ध कायम भई गर्भवती भएपछि परिवार र छरछिमेक बाध्य भएर बिवाह गर्न अग्रसर हुने गरेका कतिपय घटनामा बिवाह रोकौं बच्चा जन्माउने भइसक्यो, नरोकौं कानूनले मान्यता दिँदैन, अर्कोतिर आत्महत्या नै पो गर्ने हो कि भन्ने डर पनि छ’, उपाध्यक्ष बोलखेले भन्नुभयो ।
यस्तै मकवानपुरगढी गाउँपालिका–७, सुकौरास्थित जनता माविका प्रधानाध्यापक होम नेपाली भन्नुहुन्छ, ‘विद्यालयमा बालबिवाह गर्नुहुन्न, बालबिवाह दण्डनीय छ भनेर आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी भएको भोलिपल्टै मावि तहका विद्यार्थी भागेर बिवाह गरेको घटना भएका छन् ।’ शैक्षिक सत्र २०७६ मा तीन जना विद्यार्थीले बालबिवाह गरेको घटना बारे अध्ययन गर्दा परिवारमा कलह प्रमुख कारण भएको उहाँ बताउनुहुन्छ । ‘एउटा विद्यार्थीको आमा दोस्रो बिहे गरेर गएपछि बुबाले पनि दोस्रो बिहे गरेको र फूफूको घरमा बसेर पढ्दै गरेकी छात्राले बिवाह गरेको पाइयो’, प्रधानाध्यापक नेपालीले भन्नुभयो, ‘प्रेम सम्बन्धसँगै कक्षा ८ मा पढ्दै गरेकी एक छात्रा गर्भवती भएपछि बिवाह पनि गरिन् कक्षा ८ बाट राम्रो नतीजासहित उत्तीर्ण भएकी उनी अहिले एक सन्तानकी आमा छिन् ।’