मकवानपुरमा बारीमै कुहियो तरकारी

गुगलपाटी संवाददाता
२८ जेष्ठ २०७७ १०:४१

हेटौंडाः लकडाउनका कारण मकवानपुर  किसानको तरकारी बिक्री नभएर कतै बारीमै कुहिएको छ । कतै भने खेतमै ट्रयाक्टर लगाएर मकै छरिएको छ । मकवानपुरको थाहा नगरपालिका–६ कटुन्जेका वीरबहादुर वाइबाले ३५ रोपनीमा लगाएको मूला किलोको एक रुपैयाँमा पनि नबिकेपछि ट्रयाक्टर लगाएर जोतिदिए । बारी जोत्नै उनलाई तीन दिन लाग्यो ।

‘गत वर्ष उनले मूलाबाटै १५ लाख रुपैयाँ कमाएका थिए,’ थाहा–६ का वडाध्यक्ष शशिधर सुवेदीले भने, ‘यो वर्ष २० लाख रुपैयाँ आम्दानी हुने अनुमान थियो । बिक्री नभएपछि बारीमै जोत्नुपर्‍यो ।’ स्थानीय सन्तलाल लामाले पनि मूला बारीमै जोतेर मकै छर्न थालेका छन् । गत वर्ष लामाले मूला बेचेर १२ लाख रुपैयाँ बचत गरेका थिए । यो सिजनमा १२ सयको पनि बिक्री नभएको उनले बताए ।
थाहा नगरमा करिब २ सय परिवारले १५ सय रोपनीमा वाइयार जातको हाइब्रिड मूला खेती गरेका थिए । बजारको समस्याले किसानले ठूलो घाटा बेहोरोको नगरका कृषि शाखा प्रमुख सञ्जय तिवारीको भनाइ छ । गत वर्ष यहाँबाट चार करोड रुपैयाँभन्दा बढीको मूला बिक्री भएको थियो ।