बसपार्कको होटललाई क्वारेन्टाईन बनाउँदा स्थानीयको विरोध

गुगलपाटी संवाददाता
२८ जेष्ठ २०७७ ११:२६

हेटौंडाः कोभिड १९ (कोरोना भाइरस) को सङ्क्रमणबाट बच्न बन्द भएका हेटौँडाका १० पर्यटकीय होटलहरूलाई क्वारेन्टाइनको रुपमा प्रयोगमा ल्याइने भएको थियो । जसमध्ये क्वारेन्टाइन व्यवस्थाका लागि हेटौंडा १० आनन्दटोल स्थितमा रहेको चण्डिका होटल एण्ड लजलाई छनोट गरेका थिए । चण्डिकालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्दा स्थानीयलाई समस्या पर्न सक्ने भन्दै आज बिहान विवाद भएको छ ।
आदर्श टोल विकास समितीका अध्यक्ष शान्ता गजुरेलले आफ्ना टोलमा बस्नेहरुलाई क्वारेन्टाईन बनाउँदा जोखिम बढ्ने बताईन् । उनले भनिन् “यस टोलमा घना बस्ति छ, केटाकेटीहरु खेल्दै बस्छन् यहाँ होटल भन्दा पनि कोठामा बस्ने अनि व्यापारीहरुको बसोबास बढि रहेको ठाँउ हो । जनघतत्व बढि भएको ठाँउमा क्वारेन्टाइन राख्दा सबै जना जोखिममा पर्न सक्छन् । ” उनले सरकारलाई जोखिम मुक्त ठाँउमा मात्र क्वारेन्टाइन राख्न अनुरोध गरेकी छिन् ।
त्यस्तै न्यु चण्डिका होटल एण्ड लजको प्रोपाइटर श्याम सुन्दर तिवारीले आफ्नो होटलमा क्वारेन्टाइन बनाउँदा स्थानीयले विरोध गरेको् जनाए । स्थानीय भन्दा बाहिर रहेर आफुले व्यवसायी गर्न नमिल्ने उनले बताए । होटल एशोसियनबाट क्वारेन्टाइनको लागि कोठा दिनुपर्ने जानकारी आएको हुनाले उनले दिनपर्छ भने दिन तयार रहेको बताए । क्वारेन्टाइनको लागि चण्डिका होटल एण्ड लज उपयुक्त नरहेको स्थानीयको भनाई छ । चण्डिका होटल एण्ड लजका घरधनीले लकडाउन अवधि भरको भाडा नलिने निधो गरेका छन् । स्थानीयले क्वारेन्टाइन राख्न नमानेको र होटल भन्दा पनि बढि मानिसहरुको बसोबास गर्ने ठाँउ रहेकोले क्वारेन्टाइनको लागि उपयुक्त नरहेको बताए ।