मकवानपुरका स्थानीय सरकारले नै भिटिएम उपलब्ध गराउने
गुगलपाटी संवाददाताहेटौंडा–४, कर्रामा रहेको आइसोलेसन वार्डमा आज बिहीबारबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने भिटिएमको अभाव हुने देखिएपछि मकवानपुरका स्थानीय सरकारले नै भिटिएम उपलब्ध गराउने भएका छन् । संघीय सरकारले उपलब्ध गराएको भिटिएम सकिने भएपछि मकवानपुर जिल्लाको बकैया गाउँपालिकाले २५ थान, बागमती गाउँपालिकाले १० थान, थाहा नगरपालिकाले १५ थान भिटिएम आइसोलेसन वार्डलाई उपलब्ध गराएको छ ।
कोरोना परिक्षण गर्न स्वाब संकलन गरी राख्ने भिटिएमको अभाव हुँदा परिक्षण नहुने भएपछि स्थानीय तहले भिटिएम उपलब्ध गराएको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले हेटौंडा अस्पताल र हेटौंडा अस्पतालले आइसोलेसनलाई उपलब्ध गराउँदै आएको भिटिएम सकिएपछि स्वाब संकलनमा समस्या आउने उहाँले जानकारी दिनुभयो ।
१० दिनसम्म भिटिएम उपलब्ध नहुँदा सबैको स्वाब संकलन गर्ने कार्य प्रभावित हुने उहाँको भनाइ छ । यसअघि आइसोलेसन वार्डलाई स्वास्थ्य कार्यालय मकवानपुरले पनि भिटिएम उपलब्ध गराएको थियो । हालसम्म हेटौंडाको आइसोलेसन वार्डमा मात्रै ६०३ वटा भिटिएम प्रयोग भएको इन्चार्ज चौलागाईले जानकारी दिनुभयो । आज बिहीबारदेखि आपूर्ति व्यवस्थापनले भिटिएम उपलब्ध नगराएसम्म स्थानीय तहले भिटिएम उपलब्ध गराए स्वाब संकलन हुने नत्र रोकिने इन्चार्ज चौलागाईले बताउनुभयो । भिटिएम उपलब्ध गराउने स्थानीय तहका नागरिकको मात्रै स्वाब संकलन हुने उहाँको भनाई छ ।
बुधबार हेटौंडा–४, कर्रा स्थित श्रमिक माविमा रहेको आइसोलेसन वार्डबाट ९ जनाको स्वाबको नमूना लिइएको छ । आइसोलेसनमा १७ जना रहेकोमा दिउँसो १४ जना डिस्चार्ज भएर ३ जना मात्र बाँकी रहेको उहाँले बताउनुभयो । हालसम्म हेटौंडा–४, मा रहेको आइसोलेसनबाट स्वाब संकलन गरेर हेटौंडाको कोरोना प्रयोगशालामा कोरोना परिक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अन्यको भने जिल्लाबाहिर परीक्षण गर्दा पोजेटिभ आएको इन्चार्ज चौलागाईले जानकारी दिनुभयो ।