अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

गुगलपाटी संवाददाता
२९ जेष्ठ २०७७ ०९:१५

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार बिहीबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख ४ सय ६४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख १२ हजार ९ सय २४ रहेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमण पुष्टि भएकामध्ये ५ लाख ३३ हजारभन्दा बढी निको भएका छन् ।

अमेरिकामा दैनिक करिब ५ लाख कोरोना परीक्षण भइरहेको छ । पछिल्लो समय अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या केही घटे पनि संक्रमितको संख्या भने बढिरहेको छ ।

त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा ७ लाख ७२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । ब्राजिलमा अहिलेसम्म करिब ३९ हजार ६ सय ८० को मृत्यु भएको छ भने ४ लाख १३ हजारभन्दा बढी निको भएका छन् ।

त्यसैगरी रुसमा ४ लाख ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । रुसमा ६ हजार ३ सय ५० जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ भने २ लाख ५२ हजारभन्दा बढी निको भएका छन् ।

बेलायतमा करिब २ लाख ९१ हजारमा कोरोना संक्रमण देखिएको छ । बेलायतमा अहिलेसम्म ४१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै कोरोना संक्रमणको हिसाबले पाँचौं स्थानमा रहेको भारतमा २ लाख ७६ हजारभन्दा बढीमा कोरोना देखिएको छ । भारतमा अहिलेसम्म एक लाख ३५ हजार जना निको भएका छन् भने ७ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २ लाख ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्पेनमा अहिलेसम्म २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । स्पेनमा करिब एक लाख ५० हजार जना निको भएका छन् । त्यस्तै इटालीमा अहिलेसम्म २ लाख ३५ हजारभन्दा बढी संक्रमित भएका छन् । इटालीमा ३४ हजार १ सय १४ जनाको मृत्यु भएको छ भने करिब एक लाख ७० हजार जना निको भएका छन् ।

गत वर्षको डिसेम्बरबाट चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट पूरा विश्व आक्रान्त छ । बिहीबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ७३ लाख ६० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै कोरोना संक्रमणबाट करिब ४ लाख १६ हजारभन्दा बढीको मृत्यु भएको छ भने ३४ लाख ५० हजारभन्दा बढी निको भएका छन् ।