शनिबार ठुलो पानी पर्ने सम्भावना

गुगलपाटी संवाददाता
३१ जेष्ठ २०७७ ०८:३२

नेपालमा वर्षा गराउने मौसमी प्रणाली मनसुनले बिस्तारै गति लिइरहेको मौसमविद्ले बताएका छन्। शुक्रबार अपराह्न देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुनले पूर्वी क्षेत्रमा वर्षा गराउन थालिसकेको हो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार शुक्रबार राति पूर्वका कही स्थानमा भारी वर्षासमेत भएको छ। धरानमा १२१.८ मिलिमिटर वर्षा भएको हो।

शुक्रबार राति खासगरी पूर्वका ओखलढुंगा, ताप्लेजुङ, इलाम, सुनसरीलगायत क्षेत्रमा मनसुनी वर्षा भएको हो । मौसमविद्का अनुुसार अहिले मनसुनी प्रणाली पूर्वमा मात्र सीमित छ र यो बिस्तारै देशभर फैलिनेछ।

‘अबको ३ दिनभित्र देशको मध्य क्षेत्रसम्म फैलिसक्ने अनुमान मौसमविद्हरुले गरेका छन् ।

यसको अर्थ काठमाडौं उपत्यकालगायत क्षेत्रमा अहिले मनसुन भित्रिसकेको छैन। पूर्वी क्षेत्रबाहेक अन्य स्थानमा भने अहिले प्रिमनसुनअन्तर्गत स्थानीय वायु तथा पश्चिमी वायुकै प्रभावले मौसम बदली तथा वर्षा गराइरहेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्य बदली भई प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदूर पश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

मौमसविद्का अनुसार मध्यम वर्षा हुनु भनेको ठूलै पानी पर्नु हो। त्यो भन्दा पनि ठूलो वर्षा हुनुलाई भारी वर्षा भनिन्छ। यस्तो वर्षा पनि पूर्वका केही स्थानमा शुक्रबारदेखि नै सुरु भइसकेको छ।