दुर्गम विद्यालयका शिक्षकहरुको लागि ५ लाख प्रोत्साहन भत्ता

गुगलपाटी संवाददाता
१० असार २०७७ ०९:०६

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक २०७७÷७८ मा शिक्षामा कुल बजेटको २८.५ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार बजेट आज सार्वजनिक गरेकोमा नगरको शिक्षातर्फ ५९ करोड ४७ लाख ९४ हजार रुपैयाँ विनियोजन गरेको हो ।

हेटौंडा उपमहानगरले कोभिड–१९ प्रभावित विद्यार्थीहरुका लागि आगामी वर्षमा बैकल्पिक शिक्षण सिकाईको लागि ७ लाख बजेट विनियोजन गरेको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले बताउनुभयो । त्यस्तै दुर्गम क्षेत्रमा संचालित विद्यालयहरुको शिक्षकहरुका लागि ५ लाख ४ हजार प्रोत्साहन भत्ता, तामाङ भाषा कक्षा संचालनका लागि २ लाख ५० हजार, छात्राहरुका लागि सेल्फ डिफेन्स कार्यक्रमका लागि २ लाख ५० हजार छुट्टाइएको छ ।

त्यस्तै बालप्रतिभा पहिचान कार्यक्रमको लागि ३ लाख र गणित विज्ञान शैक्षिक प्रदर्शनीको लागि २ लाख बजेट छुट्टाइएको छ । यस्तै सामुदायिक विद्यालयहरुको छात्राहरुको लागि निशुल्क सेनेटरी प्याड व्यवस्थापनका लागि संघीय कार्यक्रम अन्तरगत १ करोड ३ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।