बागमती प्रदेशका १७ सय किसानले लिए दूधको ८ करोड अनुदान
गुगलपाटी संवाददाताबागमती प्रदेशअन्र्तगत रहेका ९ जिल्लाका १७ सय किसानले करिब ८ करोड लिटर दूध उत्पादन गरेर ८ करोड अनुदान पाएका छन् । प्रतिलिटर दूध उत्पादन गरेबापत बागमती सरकारको एक रुपैयाँ अनुदान दिने कार्यक्रमबाट प्रदेशभरका ९ जिल्लाका १९८ सहकारीका १७ सय ३१ दूध उत्पादक किसानले चालु आर्थिक वर्षमा करिब ८ करोड अनुदान पाएका छन् । आर्थिक वर्ष २०७६÷०७७ को लागि दूध उत्पादनमा आधारित अनुदानको लागि १२ करोड विनियोजन गरिएकोमा सो बराबरको अनुदान भुक्तानी गरिएको हो ।
प्रदेशअन्र्तत पर्ने १३ जिल्लामध्ये ९ जिल्लामा रहेका ती सहकारीले ७ करोड ८३ लाख १८ हजार ४ सय २२ लिटर दूध उत्पादन गरेर चालु आर्थिक वर्षमा प्रतिलिटर एक रुपैयाँ अनुदानवापत ७ करोड ८३ लाख १८ हजार ४ सय २२ भुक्तानी गरिएको बागमती प्रदेश पशुपंक्षी तथा मत्य विकास निर्देशनालय हेटौंडाका पशु विकास अधिकृत नवराज दाहालले जानकारी दिए ।
बागमती प्रदेश दूध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि २०७५ को दफा १५ मा प्रतिलिटर दूध उत्पादन गरेवापत किसानलाई प्रोत्साहनस्वरुप एक रुपैयाँ अनुदान उपलब्ध गराइने व्यवस्था गरेको छ ।
अनुदान लिनेमा सबैभन्दा बढी चितवनका ९४ दुग्ध उत्पादक सहकारीले ४ करोड ४५ लाख ६९ हजार २ सय ७४ लिएको छ भने सबैभन्दा कम रामेछापको एउटा सहकारीले १ लाख १५ हजार ६ सय ५ रुपैयाँ अनुदान लिएको निर्देशनालयका अधिकृत दाहालले जानकारी दिए ।
ललितपुरको २४ सहकारीले ७३ लाख एकहजार ९ सय ९०, सिन्धुलीको एउटा सहकारीले एकलाख ४३ हजार ४ सय ३८, सिन्धुपाल्चोकको ४ सहकारीले ९ लाख ६२ हजार ४२, मकवानपुरको ३९ सहकारीले एककरोड २८ लाख ६७ हजार ८ सय ६५, नुवाकोटको एक सहकारीले दुईलाख २६ हजार ५ सय ४३, धादिङको २ सहकारीले ४ लाख ६४ हजार ३ सय ६६ र काभ्रेपलाञ्चोक ३२ सहकारीले एककरोड १६ लाख ६७ हजार २ सय ९९ रुपैयाँ भुक्तानी लगेको अधिकृत दाहालले बताए ।
प्रतिलिटर दूधको एक रुपैयाँ अनुदान पाउँदा किसानको अवस्थामा खासै परिवर्तन नआउने भए पनि अनुदान दिन सुरु गरिनु किसानका लागि उत्साह दिने काम भएको उनले बताए ।
दूध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि २०७५ को दफा १८ को ९क० र ९ख० अनुसार बार्षिक कम्तिमा २०० दिनसम्म दैनिक ३०० लिटरका दरले दूध संकलन तथा उत्पादन गरेका सहकारीहरु अनुदानको पाउनको लागि योग्य हुने मापदण्डमा उल्लेख छ । सहकारीले प्राप्त गरेको कूल अनुदान सम्वन्धित कृषकलाई नै उत्पादनको आधारमा भुक्तानी दिनु पर्ने कार्यविधि छ ।
दोलखा, रसुवा, भक्तपुर र काठमाण्डौंका किसानहरुको भने मापदण्ड नपुगेका कारण दूध उत्पादनको कुनै पनि अनुदान नपाएको निर्देशनालयले जनाएको छ । दोलखाका दुईवटा सहकारीले आवेदन दिएको भए पनि दैनिक ३ सय लिटर दूध उत्पादनको मापदण्ड नपुगेको कारण अनुदान नपाएको अधिकृत दाहालले जानकारी दिए ।
आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि सो अनुदान रकमलाई दोब्बर बनाएर प्रतिलिटर दूधको २ रुपैयाँ अनुदान दिन १६ करोड बजेट विनियोजन गरिएको छ ।