अदालतमा उपस्थित भएर यस्तो बयान दिए गोरेले

गुगलपाटी संवाददाता बिराटनगर
९ जेष्ठ २०७५ १३:१३

सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ९गोरे०ले शनम शाक्यको हत्या आरोप अस्वीकार गरेका छन् । बुधवार जिल्ला अदालत मोरङमा बयान दिँदै गोरेले सनमको हत्या आफूले नगरेको बताएका हुन् ।

सनमलाई यातना दिइ मारिएको ठाउँको बारेमा आफूलाई जानकारी भएपनि सनमको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको गोरेको भनाइ छ । गोरेले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका तथा फरारको सूचीमा रहेका अभियुक्तमध्ये केहीलाई मात्र आफूले चिनेको अदालतसमक्ष बयान दिएका छन् ।

 वकिलको अवरोध

गोरेले आफ्नो बयानका क्रममा सनम शाक्यको हत्यामा आफ्नो संलग्नता नरहेको बताएपछि अभियोजन पक्ष ९सरकारी वकिलको कार्यालयले सबूत प्रमाणको रुपमा पेश गरेको भिडियो देखाउन खोजिएको थियो । गोरेले मृतक सनम शाक्यसहित अन्य २ जनालाई दिएको यातनाको भिडियो देखाउन खोज्दा भने प्रतिवादी गोरेका पक्षका वकिलले अबरोध गरे ।

न्यायाधीशको अनुमतिमा भिडियो देखाउन खोजिएको थियो । तर गोरेको पक्षबाट बहस गर्ने भनेर उपस्थित भएका अधिवक्ता यमबहादुर थापा मगरले भिडियो देखाउन दिएनन् ।

अधिवक्ता मगर प्रतिवादमा उत्रिए पछि देखाउन खोजिएको भिडियो बन्द गरिएको थियो ।

अदालतका अधिकारीले गोरेले दिएको बयानको ५ पन्ने विवरण उतारेका छन् । उनले अदालतमा प्रहरी हिरासतमै आफूमाथि खतरा भएको बताएका थिए । र, अदालतले जिल्ला प्रहरी कार्यालय, मोरङलाई गोरेको सुरक्षा प्रबन्ध मिलाउन आदेश दिएको छ ।

गोरेलाई प्रकरणमा यसअघि पक्राउ परेका २८ जनाको बयान पनि पढेर  सुनाइएको छ ।

सुरक्षा माग

‘उनले प्रकरणका कतिपय कुरा इन्कार गरेका छन् भने कतिपय स्वीकार पनि गरेका छन्’, स्रोत भन्यो, ‘तर, लिखित नआएसम्म धेरै कुरा भन्न सकिँदैन ।’

उनले बयान दिने इजलासमा सीमित मान्छेहरुलाई मात्रै प्रवेश गर्न दिइएको थियो । गोरेका तर्फबाट एक जना वकिल पनि थिए ।

गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ । उनको बयान बिहीबार पनि जारी रहनेछ ।

यसअघि मंगलबार सुन काण्डमा मुछिएका उच्च प्रहरी अधिकारीसहित २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।