बागमती प्रदेशका ८ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु
गुगलपाटी संवाददाताबागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्तिको कूल संख्या ८ सय ८७ जना पुगेको छ । बुधबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमित व्यक्तिको संख्या ८ सय ८७ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बुधवार प्रदेशको काठमाडौंका ४ जना र चितवनका एक जना गरी थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता (कोभिड–१९) डा.पुरुषोत्तम राज सेढाईका अनुसार, प्रदेशमा कूल संक्रमितमध्ये हालसम्म ४ सय ५६ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
त्यस्तै, प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म संक्रमणबाट ४३ जनाको मृत्यु भएकोमा १० जना बागमती प्रदेशका मात्रै रहेका छन् ।
बागमती प्रदेशमा कोरोना भाइरसको आशंकामा २४ हजार ६ सय ३९ जनाको पीसीआर र ३६ हजार २ सय १५ जनाको आरडीटी विधिबाट नमुना परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, बागमती प्रदेशमा ११ हजार ३ सय ९ वटा क्वारेन्टाइन बेर्ड व्यवस्थापन गरेकोमा अहिले १ हजार ५ सय ३५ जना बस्दै आएका छन् भने होम क्वारेन्टाइनमा १ हजार ५ सय ४१ जना बस्दै आएका छन् ।
बागमती प्रदेशमा १ हजार ३ सय २४ वटा आइसोलेशन बेर्ड तयारी अवस्थामा रहेका छन् । जसमा ३ सय १५ जना बस्दै आएका छन् ।