नेकपाको पहिलो बैठक : भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक

गुगलपाटी संवाददाता काठमाडौं
१० जेष्ठ २०७५ १५:४३

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष निर्देशन दिएका छन्।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओली र प्रचण्डले विशेष निर्देशन दिएका हुन्। संघीय, प्रादेशिक र स्थानीय सरकार सञ्चालन गर्दा भ्रष्टाचार हुन नदिन दुई अध्यक्षले जोड दिएका हुन्। ‘सुशासनलाई प्राथमिकतामा राखेर समृद्धिको लक्ष्य हासिल गर्नुपर्छ’, अध्यक्षको निर्देशनबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘हाम्रो मुख्य कार्यसूची संघीय, प्रादेशिक र स्थानीय सरकार सञ्चालन गर्दा भष्टाचार नगर्ने, हुन नदिने र भएमा तत्काल कारबाही गर्ने हाे । हामी सबै त्यही बाटाेमा अघि बढ्नुपर्छ ।’

सुशासन नभएमा देश समृद्ध हुनै नसक्ने भन्दै दुर्इ अध्यक्षले सबै केन्द्रीय सदस्यलाई सुशासनमा आफ्नो तहबाटै काम गर्न आग्रह गरे। दुई अध्यक्षको निर्देशनमा केन्द्रित भएको पहिलो बैठकले केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विवरण तयार पारेको छ। बिहीबारको बैठकको प्रमुख कार्यसूची  नै केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विवरण तयार पार्ने थियाे ।