छोरी बुहारीको पहुँच बढाउन थप एक सय छात्रवृत्ति

गुगलपाटी संवाददाता
१३ श्रावण २०७७ १२:४१

कुमारी स्याङ्बो
हेटौंडाः बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पढ्न चाहनेहरुका लागि आर्थिक वर्ष २०७७÷७८ मा १ करोड बजेट विनियोजन गरि ३ सय ९८ जनालाई छात्रवृद्धि दिएको छ । चालु आर्थिक वर्षमा ५ सय जना छोरी बुहारीलाई छात्रवृत्ति दिने लक्ष्य राखेको छ । यस वर्षको लागि भने १ करोड २५ लाख बजेट छुट्याइएको छ ।
घरको काम, छोराछोरी स्याहार्नदेखि लिएर अनेकौ काममा घरमै अल्झिन बाध्य छन् बुहारी । यसै क्रममा शिक्षा क्षेत्रमा प्रदेश ३ सरकारले यस योजना अघि सारेको हो । सामाजिक विकास मन्त्रालयको शिक्षा विकास निर्देशनालयले प्रदेशभित्रका सामुदायिक क्याम्पसमा स्नातक र स्नाकोत्तर अध्ययनरत ४ सय ६ जना छोरी बुहारीलाई छात्रवृद्धि दिने लक्ष्य रहेको थियो । जसमध्ये ६ जना लाई छात्रावृद्धि दोब्बर भएकोले क्यान्सिल गरेको निर्देशनालयले जनाइएको छ । उच्च शिक्षा पढ्न छोरी बुहारीलाई छात्रवृत्ति दिने योजना अघि सारेको हो । योजना अघि सारिएसँगै छोरी बुहारीलाई केही राहत मिल्ने देखिन्छ ।
निर्देशनालयले स्नातकोत्तर तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा (सिटिभिटी) विषय पढ्ने ३ जना छात्रालाई प्रतिव्यक्ति १ लाख ७६ हजार छात्रवृत्ति दिएको कामु निर्देशक चन्द्रप्रसाद लुइटेलले जानकारी दिए । छात्रवृत्ति पाउने तिनै जना लतिपुरका हुन् ।
त्यस्तै स्नातक विज्ञान विषय पढ्ने ५४ जना छात्रालाई प्रतिव्यक्ति २० हजार छात्रवृति दिएको छ । जसमध्ये मकवानपुरमा २७ जना, चितवनमा १ जना, दोलखामा १ जना र चितवनमा २६ जनालाई छात्रवृत्ति दिएका छन् ।
स्नातक तह अर्ध विज्ञान विषय पढ्ने २ सय ६२ जना छात्रालाई प्रतिव्यक्ति २० हजार छात्रवृत्ति दिएको छ । जसमा रामेछापको १० जना, दोलखाको १५ जना, मकवानपुरको ९७ जना, भक्तपुरको ६ जना, सिन्धुपाल्चोकको १५ जना, सिन्धुलिको ५५ जना, चितवनको ६ जना, ललितपुरको २ जना, काठमाण्डौको २४ जना, काभ्रेको १० जना र धादिङको २४ जनालाई छात्रवृत्ति दिएका छन् ।
स्नाकोत्तर विषय पढ्ने १ सय ९ जना छात्रालाई प्रतिव्यक्ति २५ हजार छात्रवृत्ति दिएको छ । रसुवाको ५ जना, दोलखाको २ जना, मकवानपुरको ४६ जना, भक्तपुरको २ जना, नुवाकोटको १ जना, ललितपुरको १ जना, सिन्धुलीको १३ जना, चितवनको ३२ जना, काभ्रेको २ जना र धादिङको ५ जनालाई छात्रवृत्ति दिएको कामु लुइटेलले बताए ।
निर्देशनालययका अनुसार प्रदेशभित्र स्थायी बसोबास भएका वा विवाह गरी आएका सामुदायिक क्याम्पसका छात्राले मात्रै छात्रवृत्ति पाउने छन् । योग्यता पुगेका इच्छुक छात्राले यसपाली पनि शिक्षा तालिम केन्द्र धुलिखेल वा शिक्षा विकास निर्देशनालय हेटौँडामा निवेदन दिन सक्ने जनाइएको छ ।
निवेदकले निवेदनका साथमा शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपी, क्याम्पस भर्ना रसिका साथै सम्बन्धित तहमा लाग्ने वार्षिक शुल्क किटान गरिएको पत्र, छात्रवृत्ति दिएको किटानी पत्र पेश गर्नुपर्नेछ । स्थायी बसोबास भएको स्थानीय तहको पत्र तथा विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र र श्रीमानको नागरिकता प्रमाणित प्रतिलिपी पनि निवेदनसँगै बुझाउनु पर्नेछ ।