जंगली च्याउ खाँदा बिरामी परेका एकैघरका थप तीनजनाको मृत्यु

गुगलपाटी संवाददाता
१३ श्रावण २०७७ १६:३०

जंगली च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका– १ स्याँक्रीका एकैघरका थप तीनजना बालबालिकाको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको छ । सोमबार गाउँमै एकजना बालिकाको मृत्यु भएको थियो ।

च्याउ खाएर मृत्यु हुनेको संख्या चार पुगेको छ । गत ९ साउनमा जंगली च्याउ खाएका टेकबहादुर चलाउनेसहित परिवारका आठजना बिरामी परेका थिए ।

कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डा। केएन पौडेलले बताए ।

चलाउनेकी तीन वर्षीया छोरी अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको थियो । विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सातजनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि सोमबार नै सुर्खेत लगिएको थियो । बिरामी परेका एकजनाको अवस्था गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा। पौडेलले बताए ।

ढिलोगरी अस्पताल ल्याएका कारण च्याउको विषले धेरै असर गरिसकेकाले बचाउन नसकिएको उनले बताए ।

घरमूली ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललित चलाउने, ३० वर्षीया बुहारी कल्पना चलाउने, छोरी पशुपति चलाउनेको सुर्खेतमै उपचार भइरहेको छ । गाउँपालिकाले निजी खर्चमा हेलिकोप्टर चार्टर्ड गरेर बिरामीको उद्धार गरेर सुर्खेत पुऱ्याएको हो । वडा नं.१ मा स्वास्थ्य चौकी नहुँदा प्रारम्भिक उपचारमा समस्या भएको थियो । बिरामी भएको तीन दिनपछि मात्र उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
स्रोतः नयाँपत्रिका