घुस लिने चार जना प्रहरी प्रदेश प्रहरी कार्यालय हेटौंडाको नियन्त्रणमा

गुगलपाटी संवाददाता
१३ श्रावण २०७७ १६:४८

आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारि इमान्दारीताका साथ निर्वाह नगर्ने चार जना प्रहरी कर्मचारीहरुलाई प्रदेश प्रहरीबाट खटिएको बिषेश टोलीले नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न गठन गरीएको टोलीले सेवाग्राहीसंग रकम लिने चार जना प्रहरीलाई नियन्त्रण लिई आवश्यक कार्वाही भैरहेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरी कर्मचारीहरुलाई सवारी चालकसंग विभिन्न वहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका वरिष्ठ प्रहरी उपरिक्षक सुदिप गिरीले जानकारी दिनुभयो ।

कार्वाहीको लागि झिकाईएका चार जना प्रहरी कर्मचारी मध्ये २ जना ट्राफिक प्रहरी कार्यालय मकवानपुरको रातोमाटे र ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनमा कार्यरत छन्, भने २ जना ईलाका प्रहरी कार्यालय रामनगर चितवन र इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत रहेका छन् ।

कारवाहीको लागि झिकाईएका एक जना प्रहरी हवल्दार सहित ३ जना प्रहरी जवानलाई प्रहरी आचरण विपरितको कार्य गरेको पाईएकोले प्रहरी नियमावली अनुसार कानुनी कार्वाही गरीने भएको उहाँले वताउनुभयो । आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा संचालन गरीरहेको छ ।