कोरोना संक्रमितलाई समाजको तिरस्कार

गुगलपाटी संवाददाता
१८ भाद्र २०७७ १२:३३

कुमारी स्याङ्बो
हेटौंडाः हेटौंडा ९ घर भई ३८ वर्षिय सानु खड्कालाई कोरोना संक्रमण देखियो । उनको घरमा कोल्ड स्टोर पसल रहेकोले उनलाई पसलमा ग्राहकहरु किनमेल गर्ने क्रममा कोरोना लागेको बताउछिन् । खड्कालाई कोरोना देखिएपछि उनीमात्रै होइन समाजमै सन्त्रास फैलिएको छ ।
व्यापार गर्दै गर्ने क्रममा उक्त महिलालाई कोरोना भाइरस पुष्टि भएको थियो । उनलाई कोरोना लागे संगै उनी, परिवार, आफन्त पनि खुबै डराए । तर खड्का १९ दिनमा कोरोनालाई जितेर मुस्कुराउँदै घर फर्केका छन् ।
घर फर्किदै गर्दा उनले अरुलाई पनि सन्देश दिदैँ भने कोरोना सगं डराउनु पर्दैन । आत्मबल बढाए यसले केही गर्न सक्दैन । सजिलै जितिँदो रहेछ । यो सामान्य भाइरस हो । उनले कोरोनालाई त जित्न सफल भए तर समाजले हेर्ने दृष्टिकोणलाई जित्न सकेनन् ।
खड्काजस्तै कोरोनालाई जितेर घर फर्किनेहरुको अनुभव उस्तै खालको छ– सचेत रहने, मनोबल उच्च राखे कोरोना सजिलै जितिन्छ । केहीले पटक–पटक डाक्टरलाई सोधें, छिमेकीले छि–छि दूरदूर गर्दै हेपे भने के गर्ने ? कोरोना जितेर घर फर्किन लागेका एक व्यक्तिले आफू आइसोलेसनमा बस्दा छिमेकीले परिवारलाई समेत अप्ठेरो पारेको गुनासो गरे ।
छिमेकी र समाजले कोरोना संक्रमित भनेर हेला गर्ने, छि–छि गर्ने गरे भने के गर्ने डाक्टर ? उनले भने, कोरोना त जितेर हाँसीहाँसी घर फर्किन लागेका छौं । तर, छिमेकीको तिरस्कारदेखि डर लागिरहेको छ ।
घर फर्किन लागेका अधिकांशलाई यस्तै चिन्ता थियो, अब छिमेकी र समाजले पो कस्तो ब्यवहार गर्ने हो ?
डाक्टरको साथ, हौसलाले कोरोना जितेर घर फर्किँदै गर्दा समाजको डर भने यथावत रहेको हेटौंडा ४ का एक पुरुषले बताए ।
हामीलाई निको पार्ने र हौसला बढाउने डाक्टरहरुलाई धन्यवाद छ, उनले भने, अब छिमेकीबाट पो कस्तो ब्यवहार हुने हो ?
उनीहरुले हेटौंडा ६ गौरीटार आइसोलेसन वार्डका इन्चार्ज डाक्टर सागर काफलेसँग घर फर्केर के–के गर्ने भनेर सोधिरहेका थिए । डा. काफलेले एक हप्ता सुरक्षित भएर घर बस्न आग्रह गर्दै कोरोना जितेर फर्केकालाई छिमेकीले नराम्रो व्यवहार गर्नै नमिल्ने बताए ।
एक हप्ता सुरक्षित भएर घरमै बस्नू । त्यसपछि नियमित कामतिर लाग्नू । कोरोना त जितेर फर्किदै हुनुहुन्छ अब तपाईंहरुले धेरै चिन्ता लिने होइन, डा. काफलेले भने, छिमेकी र समाजले दूर–दूर गरे कोरोनामुक्त भएको देखाइदिनू । बरु उनीहरुलाई सचेत भएर बस्न चेतना बढाउनू ।