१२ वर्षीया बालिका एक वर्षदेखि बलात्कृत
गुगलपाटी संवाददातागत मंसिर १३ मा आमा घाँस काट्न गएकी थिइन् । घरमा बाबु एक्लै थिए । त्यही बेला बाबुले एक्कासि घरका सबै ढोका बन्द गरे र उनलाई भुइँमा सुताए । खासमा आफूमाथि के हुँदै थियो उनले केही मेसो पाइनन् । त्यसपछि बेहोसझैं भइन् ।
होसमा आउँदा लगाएका कपडा रक्ताम्य थिए । कतै केही भने मारिदिने भन्दै बाबुले धम्की दिए । उनले कसैलाई भन्न सकिनन् । यो क्रम त्यतिमै सीमित रहेन, पटक–पटक दोहोरियो ।
पीडित हुन् दाङको बंगलाचुली गाउँपालिकाकी १२ वर्षीया बालिका, जो झन्डै एक वर्षदेखि निरन्तर ६१ वर्षीय ‘झड्केलो’ बुबाबाट बलात्कृत हुँदै आएको खुलेको छ । सात वर्षअघि आमाले दोस्रो विवाह गरेपछि छोरी पनि साथमा झड्केलो बाबुको घरमा आएकी थिइन् । गत मंसिरदेखि आफू उनै बाबुबाट निरन्तर बलात्कृत हुँदै आएको उनले बताइन् । ‘आमा जंगलमा घाँस काट्न गएका बेला ढोका थुनेर बलात्कार गरे ।
कतै भनेमा मारेर फालिदिने भनेर डराउन दिए,’ उनले भनिन्, ‘त्यसपछि पनि धेरै पटक बलात्कार गरे । घरमा कोही नभएको मौका पारी जबर्जस्ती गर्दै आए । मैले डरले कसैलाई भन्न सकिनँ ।’ यसअघि पहिलो श्रीमतीको हत्या गरी १० वर्ष जेल बसिसकेका कारण उनी ९बाबु० सँग सबै डराउने गरेको बालिकाकी आमाले बताइन् । ‘पहिलो श्रीमतीको हत्या गरेकाले उहाँसँग गाउँमा सबै डराउँछन् । छोरीले पनि डर लागेर भन्न सकिनछ,’ उनले भनिन्, ‘गत साउनमा एक दिन जंगलबाट फर्कंदा आफैंले देखेपछि छोरीलाई थप अत्याचार नहोस् भनेर मामाघर पठाएँ ।’ सुरुमा डराएर आफूले पनि कतै भन्न नसकेको उनले बताइन् ।
मामाघरमा गएका बेला बालिकालाई हिँड्नै समस्या भएको देखेपछि हजुरआमाले के भयो भनेर सोधेकी थिइन् । उनले यौनांग दुखेको बताएपछि हजुरआमाले सोधखोज गरिन् । ‘यौनांगमा घाउ देखाएपछि नातिनीले सबै कुरा बताई, मलाई पत्याउनै गाह्रो भयो,’ बालिकाकी हजुरआमाले भनिन्, ‘मेडिकलबाट मलम ल्याएर घाउमा लगाइदिएँ । सन्चो भएन । बिस्तारै उसले अनौठा व्यवहार देखाउन थाली ।’ पीडितको जाहेरीपछि प्रहरीले आरोपी बाबुलाई पक्राउ गरेको छ । बालिकालाई उपचार र मनोपरामर्शका लागि एक संस्थाको संरक्षणमा राखिएको छ । श्रीमान्लाई प्रहरीले पक्राउ गरे पनि छोरीको अवस्था र श्रीमान् कारबाही नभई छुट्लान् कि भन्ने त्रासले सताइरहेको बालिकाकी आमाले सुनाइन् ।
‘कुनै कारणवश ऊ छुट्यो भने हामी कसैलाई बाँकी राख्दैन । पहिले पनि अपराध गरिसकेको मान्छे हो । सबै डराउने अवस्था छ,’ उनले भनिन्, ‘छोरीको यो हालत भयो । उसलाई दिमागमा नै नराम्रो असर परिसकेको छ । छोरीको यौनांगमा भित्रैसम्म घाउ भइसकेको छ ।’ जाहेरीपछि प्रहरीले बालिकाको मेडिकल जाँच गरायो । ‘भिडियो एक्सरेमा भित्र पनि घाउ भएको देखायो तर तत्काल उपचार भएन,’ बालिकाकी आमाले भनिन्, ‘उपचार गर्नुपर्छ भनेर कसैले भनेन । मैले पनि सामान्य होला भनेर केही गर्न सकिनँ । छोरीलाई हिँड्नै, बोल्नै समस्या भएपछि फेरि आत्तिएँ ।’
स्रोतः कान्तिपुर