हज्जारौं युवालाई रोजगारी दिन तयार छौं राणा

गुगलपाटी संवाददाता
१५ पुष २०७४ १२:०९

हेटौंडा/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले हज्जारौं युवाहरुलाई रोजगारी दिन आफुहरु तयार रहेको बताएकी छिन् । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औँ वार्षिक साधरणसभामा शनिबार हेटौंडामा बोल्दै राणाले त्यसको लागि सरकारले लगानीमैत्री बातावरण बनाउनुपर्नेमा जोड दिईन् ।
समृद्ध नेपालको नेतृत्व गर्न समेत नीजि क्षेत्र तयार रहेको उनको भनाई थियो । श्रम शक्तिलाई पलायन हुन नदिन उद्योगहरुलाई प्रवर्धन गरी रोजगारी सिर्जन गर्नुपर्ने राणाले बताईन् ।
साथै ठूला आयोजना निर्माण गर्न निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको राणाको भनाई छ । मकवानपुर उद्योग वाणिज्य संघ देशमै क्रियाशिल उद्योग वाणिज्य संघ मध्येको एक रहेको भन्दै उनले मकवानपुरले गर्ने आर्थिक गतिबिधिले देशकै अर्थतन्त्रमा प्रभाव पार्ने बताईन् । कार्यक्रममा सांसदहरु कृष्णप्रसाद दाहाल, बिरोध खतिवडा, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल,संघका अध्यक्ष राजकुमार न्यौपाने लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
यसैबीच संघको नयाँ नेतृत्वको लागि अध्यक्षमा निवर्तमान उपाध्यक्ष कृष्ण कट्वाल र महासचिव महेन्द्र राउत चुनावी मैदानमा छन् । १७ गतेसम्म सञ्चालन हुने साधरणसभाले २१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।
अध्यक्षमा निवर्तमान उपाध्यक्ष कृष्ण कट्वाल र महासचिव महेन्द्र राउत छुट्टा छुट्ट प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
दुई सातादेखि प्यानल बनाएर घरदैलो गरेका कट्वाल र राउतले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् । शनिबारदेखि सुरु भएको साधरणसभमा आईतबार मनोनयन दर्ता र सोमाबर मतदान हुने मुख्य निर्वाचन अधिकृत इश्वरराज ढकालले बताए ।
२१ सदस्यीय कार्य समितिका लागि चार दर्जन उम्मेदवार चुनावी मैदानमा छन् । नयाँ कार्य समिति चयनको लागि करिब २५ सय मतदाताले मतदान गर्न पाउनेछन् ।