सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का केही भूभागबाट मनसुन बाहिरियो
गुगलपाटी संवाददातासूदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ का केही भूभागबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै बिहीबारदेखि मुलुकका केही भागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो ।
त्यस्तै हाल बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र अझै सक्रिय हुने देखिएकाले नेपालका बाँकी भूभागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।
सामान्यतया सेप्टेम्बर २३ देखि मनसुन अन्त्य हुने भए पनि यस पटक नेपालमा मनसुन अन्त्य हुन केही समय लाग्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ । केही वर्षयता नेपालमा मनसुन अवधि पछाडि धकेलिँदै गएको छ ।
गत वर्ष पनि असोज २५ गते मात्र मनसुन बाहिरिएको थियो । त्यसैले असोजमा पनि नेपालमा बाढीपहिरोबाट धनजनको क्षति भएको थियो । यस वर्ष पनि असोजको पहिलो साता नेपालका अधिकांश भूभागमा भारी वर्षा भएको थियो । जसका कारण ठाउँठाउँमा बाढीपहिरोले जनधनको क्षति हुन पुगेको थियो ।
पछिल्ला १० वर्षको विश्लेषण गर्ने हो भने यो वर्षको मनसुन सबैभन्दा विनाशकारी देखिन्छ । मनसुनको अवधिमा यसपालि अघिल्ला वर्षभन्दा ठूला पहिरोजन्य विपत्का घटना धेरै भएका छन् । खासगरी सिन्धुपाल्चोक, म्याग्दी, तनहुँ, कास्की, अछाम, बझाङ, कालीकोट, स्याङ्जा, बागलुङलगायत जिल्लामा पहिरोजन्य घटना बढी भए भने क्षति पनि बढी नै भएको छ ।
स्रोतः कान्तिपुर