हेटौंडामा एकसय २६ किलोमिट कंक्रिट सडक निर्माण

कुमारी स्याङ्बो हेटौंडा
२५ जेष्ठ २०७९ ०५:००

हेटौंडा उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको पाँच वर्षमा करिब साढे छ अर्ब रुपैयाँ बजेट परिचालन भएको छ । उक्त बजेटबाट सबैभन्दा धेरै करिब एक अर्ब रुपैयाँ सडक निर्माण तथा मर्मतमा खर्च भएको छ । उक्त बजेटमा करिब ४० करोड रुपैयाँ जनसहभागितबाट थप लगानी भएको छ ।
उक्त बजेट खर्चेर हेटौंडा उपमहानगरपालिकाले चार आर्थिक वर्षको बीचमा एकसय २६ किलोमिट कंक्रिट सडक निर्माण गरेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म नगरका १९ वडामा उक्त सडक निर्माण भएको हो । कंक्रिट सडक निर्माणको लागि एक अर्ब २० करोड ९५ लाख रुपैयाँ खर्च भएको छ । तीमध्ये ७८ करोड ७४ लाख १५ हजार रुपैयाँ उपमहानगरपालिका र ४२ करोड २० लाख ९० हजार रुपैयाँ जनसहभागिताबाट लगानी भएको उपमहानगरपालिकाले जनाएको छ । नगरका बिभिन्न स्थानमा एकसय २८ वटा योजना सञ्चालन गरेर उपभोक्ता समिति मार्फत सडक निर्माण गरिएको उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले बताए ।
यस अवधिमा सडक कालोपत्रे भने न्युन मात्रमा भएको छ । चार आर्थिक वर्षको बीचमा जम्मा दुई दशमलव ६ किमि मात्र सडक कालोपत्रे भएको छ । त्यसको लागि तीन करोड १६ लाख रुपैयाँ खर्च भएको उपमहानगरपालिकाको तथ्याङ्क छ । ‘कालोपत्रे सडक निर्माणको लागि ठेक्का प्रक्रियाबाट काम गर्नुपर्ने र धेरै लगानी लाग्ने भएकाले प्रायः कंक्रिट सडक निर्माण भएको छ’, सुचना अधिकारी थपलियाले भने ।
उपमहानगरपालिकाले चार आर्थिक वर्षको बीचमा करिब ८५ किमि सडक मर्मत गरेको छ । ९९ वटा योजना सञ्चालन गरी २८ स्थानमा सडक मर्मत गरिएको हो । त्यसको लागि उपमहानगरपालिकाले नौ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै कल्भर्ट तथा पुल पुलेमा निर्माणमा उपमहानगरपालिकाले १७ करोड ६८ लाख रुपैयाँ खर्चेको छ । उक्त रकम खर्चेर नगरका २३ स्थानमा कल्भर्ट तथा पुल निर्माण गरेको उपमहानगरपालिकाले जनाएको छ ।
यस अवधिमा उपमहानगरपालिकाले ३५ किमि नयाँ सडकको ट्रयाक खोलेको छ । हेटौंडा उपमहानगरपालिकामा गाभिएका नयाँ वडाहरुमा उक्त ट्राक खोलिएको हो । त्यसको लागि १५ करोड २३ लाख ४३ हजार रुपैयाँ खर्च भएको छ । तीमध्ये ११ करोड ८१ लाख रुपैयाँ उपमहानगरबाट लगानी र बाँकी जनसहभागिताबाट रकम खर्च भएको हो । त्यस्तै यस अवधिमा ३६ किमि सडक ग्राभेलिङ गरिएको उपमहानगरपालिकाको तथ्याङ्क छ । त्यसको लागि उपमहानगरपालिकाले एक करोड २२ लाख रुपैयाँ खर्च गरेको छ ।


पालिकाले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएर काम गरेको हो । २०७४ जेठ २४ गते हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालको तर्फबाट मेयर हरि बहादुर महत र उपमेयर मिना लामा निर्वाचित भएका थिए । नेपाली काँग्रेस र नेकपा माओावदी केन्द्रको गठबन्धन तोडर आफ्नो पुरानो बिरासत कायम राखेको एमाले नेतृत्वको उपमहानगरपालिकाले यो अवधिमा विकास र पूर्वाधारलाई प्राथमिकता दिएर काम गरेको निवर्तमान मेयर हरि बहादुर महतको दाबी छ ।
मेयर महतले पञ्च वर्षीय योजना बनाएर काम गर्ने बताएका थिए । ब्यवस्थित र सफा सडक निर्माण उनको प्राथमिकतामा थियो । सडक निर्माण र बिस्तारपछि यो अवधिमा नयाँ काममको रुपमा हेटौंडाका सडकहरुमा फुल रोप्ने र यात्रुहरु बस्ने प्रतिक्षालय निर्माणको काम गरेको छ । उपमहानगरपालिकाले कृषि थोक बजार निर्माण सुरु, ब्यवस्थित बसपार्क निर्माण सुरु र बासुदेव बहुउदेश्यीय भवन निर्माण सुरुलाई आफ्नो महत्वपूर्ण प्रमुख योजना भनेको छ । बहुवर्षीय यी योजनाहरु चालु आर्थिक वर्षबाटै सुरु भएका हुन् । ‘हामीले प्रतिबद्धता ब्यक्त गरेका धेरै काम पुरा भएका छन्’, महतले भने, ‘साविक हेटौंडाको ११ वडामा थप भएको आठ वडामा बढि विकासको काम भएको छ ।’

नगरको बिकट वडामा सडकले खुशीयाली
उपमहानगरपालिका भएपनि १९ नम्बर वडाका अधिकांस ग्रामिण क्षेत्र सहज यातायातको पहुँचमा थिएन । १९ नम्बर वडाको पूर्वी सीमा शेरशेरबाट वडा कार्यालय बस्तीपुर आइपुग्न ८ घण्टा हिड्नुपथ्र्यो । २०७७ साल यो गाउँको लागि खुशीको वर्ष रह्यो । गाउँमा मोटरबाटो पुगेपछि यहाँका स्थानीय १ घण्टामा सहजै बस्तिपुर आउन जान सक्ने भएको स्थानीय कान्छलाल रुम्बाले बताए ।
२०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएपछि १९ नम्बर वडाले सडक सञ्जाल बिस्तारलाई पहिलो प्राथमिकता दिएर काम गरेको हो । त्यसैको फलश्वरुप आधा दर्जन नयाँ सडक निर्माण भएको छ । यो पाँच वषको बीचमा करिब ५० किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण भएको छ । थप १० किमि सडकमा स्ल्याप ढलान गर्ने काम भएको छ ।


शेरशेर जस्तै कुवापानी, लेकपानी, सिरानचोक, बेसीटोल, छरछरे, पन्द्रसोलामा नयाँ सडक निर्माण र भएका सडकहरुको स्तरिकणपछि यहाँका स्थानीयहरुको दैनिकी सहज भएको छ । सडक पहुँच बिस्तार भएपछि दैनिकी सहज भएको एउटा उदाहण हो पन्द्रसोला । बस्तीपुरबाट १४ किलोमिटर दुरीमा रहेको पन्द्रसोला पुग्न एक दिनको यात्रा गर्नुपथ्र्यो । तर अहिले करिब ४५ मिनेटमा सहजै मोटर यात्रामा पुग्न सकिन्छ । २०६२÷६३ सालमा खुलेको ट्रयाक २०७८ सालमा वडा कार्यालयले १६ लाख रुपैयाँ बजेट बिनियोजन गरी स्तरिकण गरेको पन्द्रसोला टोल विकास संस्थाका अध्यक्ष अबिराम मोक्तानले बताए ।
राक्सिराङ गाउँपालिकासँग सीमा जोडिएको हेटौंडा १९ को बेसीटोलबासीलाई पनि सडक नहुँदा हेटौंडा बजार आउन जान मुश्किल थियो । बाटो नहुँदा गर्भवती महिला र बिरामीहरुलाई डोकोमा बोकेर सयौं पटक यहाँका स्थानीयले अस्पताल पु¥याए । सामुदायिक वन समुहले सडकको ट्राक खोलेको भएपनि मर्मत नहुँदा हिउँदको समयमा पनि मोरट चल्न समस्या थियो ।
तर अबिलर बगिरहेको चुरलिङ खोलासम्म वडा कार्यालयले स्तरीय सडक जोडेपछि बेसीटोलबासीलाई मात्र हैन, राक्सिराङ १ नम्बर वडास्थित गाल्साङबासीको पनि मोटारबाटोको अभावमा भोग्दै आएको कष्टकर दैनिकीमा राहत मिलेको हेटौंडा १९ नम्बर वडाका निवर्तमान वडा सदस्य बागसिं स्याङ्तानले बताए ।

उपमहानगरपालिकामै धेरै ग्रामिण क्षेत्र समेटिएको १९ नम्बर वडाको झ्यारथुम, चोकभन्ज्याङ, गुम्बाडाँडा, कल्पडाँडा आसपासमा सडक पु¥याउने काम भएको छ । पन्ध्रसोलाबाट बाँसघारी हुँदै ज्यामिरे जाने निर्माण गरिएको छ । त्यस्तै ज्यामिरेबाट सानो बसेनी र ठुलो बसेनी जाने सडक निर्माण गरिएको छ । ज्यामिरेबाटै छरछरे, डुमारे सडक निर्माण गरिएपछि यस क्षेत्रको दैनिक निक्कै सहज भएको छ । यस क्षेत्रको विकासमा जनप्रतिनिधिहरुले पनि प्राथमिकता दिएर काम गरिरहेको छ ।
बस्तिपुेरदेखि ज्यामिरेसम्म १२ महिना नै सडक सञ्चालन हुनेगरी स्तरिकरणको काम भइरहेको छ । आगामी आर्थिक वर्षभित्र सडक पुग्न बाँकी सबै टोलमा सडक पु¥याउने र तल्लो भेगमा सडकहरु पक्की र स्ल्याप ढलान ६० प्रतिशत पु¥याउने वडा समितिको लक्ष्य रहेको वडा अध्यक्ष नरनाथ सुवेदीले बताए ।


हेटौंडालाई देशकै नमुना शहर बनाउँछौं
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले हेटौंडालाई देशकै नमुना शहर बनाइने बताइन् । ‘देशको सुन्दर शहर मात्र नभई विकासमा नमुना शरहको रुपमा पनि हेटौंडालाई विकास गर्नेछौं’, उनले भने, ‘चुनावी घोषणापत्रमा पनि हामीले भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएका छौं, सडक नपुगेका र स्तरीकरण गर्नुपर्ने ठाउँहरुलाई प्राथमिकता राखेर काम गर्नेछौं ।’
उपमेर राजेश बानियाँले नगरभित्रको ग्रामिण क्षेत्रहरुमा सडक विकास पहिलो प्राथमितामा रहने बताए । ‘साविकका वडाहरुमा भन्दा पछि थप गरिएका वडाहरुमा बढि काम गर्नुपर्नेछ,हामीले कसैलाई बिभेद नगरी आवश्यकताको आधारमा काम गर्नेछौं ।’ त्यसको लागि सबै नगरबासीको सहयोग आवश्यक रहेको उनले बताए ।