पार्टी एकताको लागि एमालेले त्याग गर्नुपर्छ
गुगलपाटी संवाददाताकाठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गर्न नेकपा एमालेले त्याग गर्न तयार हुनुपर्ने बताएका छन् । नेकपा एमालेमा त्यागको भावना रहेको बताउँदै उनले पदीय भागबण्डाका आधारमा एकता प्रभावित नहुने दाबी गरे । बुधबार रिपोर्टस क्लबले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता नेपालले भने,‘हामी पद छाड्न तयार छौं तर पार्टी एकता हुनुप¥यो ।’
जनताको जनादेश अनुसार जति सक्दो चाँडो एकता गरेर विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने नेता नेपालको भनाई छ । सरकारको नेतृत्वको विषयमा पनि विवाद नहुने उनको दाबी थियो । ‘प्रधानमन्त्रीका लागि मारामार तानातान होला भन्ने लागेको होला । त्यस्तो हुँदैन’,उनले भने ।
काँग्रेसको फुटाउ र राज गरको चालबारे आफुहरु जानकार रहेकाले कसैले भाड्दैमा एकता नरोकिने नेपालको दाबी छ । एमाले र माओवादीबीच एकता भएरै छाड्ने उनको भनाई छ । ‘सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिनेछ’,उनले भने,‘सानो प्रभावकारी र चुस्त सांगठनिक संरचना बनाएर पार्टी एकता गर्नुपर्ने विषयमा गृहकार्य भइरहेको छ ।’
८ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य २ सय जना, पोलिटव्युरो सदस्य २१ भएको उदाहरण दिँदै उनले नेपालमा पनि सानो कमिटी बनाएर ठूलो काम गर्न सक्ने गरी अघि बढ्नुपर्ने बताए ।
चुनावबाट एमाले ठूलो पार्टी बनेकाले माओवादीले त्यही अनुसार सोचेको उनको भनाई थियो ।
प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी ओली नै हुन सक्ने सम्भावना बढी रहेको नेपालको भनाई थियो । तर माओवादीसँग पनि छलफल हुने उनले बताए । नेपालले आफू संगठन विस्तारमा लाग्ने र पार्टीलाई बलियो बनाउन अभियानमा लाग्ने बताए ।