भारतमा आँधी र चट्याङले ४७ जनाको मृत्यु

गुगलपाटी संवाददाता नयाँदिल्ली
१६ जेष्ठ २०७५ ०४:३७

भारतमा गत २४ घण्टायता परेको चट्याङमा कम्तीमा ४७ जनाको मृत्यु भएको यहाँका प्रकोप व्यवस्थापन अधिकारीले मंगलबार जानकारी दिएका छन् । विगत २४ घण्टायता चट्याङसँगै भारी वर्षा भएपछि ठूलो संख्यामा मानवीय क्षति भएको छ ।

बाढीका कारण कैयौँ खेतीयोग्य जमिन र नदी किनारामा रहेका बस्ती प्रभावित बनेका छन् । पूर्वी भारतीय राज्य बिहारमा वर्षा र मेघगर्जनसहित चट्याङ पर्दा १९ जनाको मृत्यु भएको झारखण्डका विपद् व्यवस्थापन अधिकारी यागिन्दर सिंहले जानकारी दिएका छन्।

मृतकमध्ये ११ जनाको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ । त्यसैगरी उत्तर प्रदेशमा ७० किलोमिटर प्रतिघण्टाको गतिले आएको हुरी र वर्षाका कारण १५ जनाको मृत्यु भएको उत्तर प्रदेशका विपद् व्यवस्थापन विभागका अधिकारी टिपी गुप्ताले बताएका छन् । उक्त प्राकृतिक विपद्का कारण कम्तीमा १० जना घाइते भएका बताइएको छ ।

झारखण्डमा विपद्का कारण केही व्यक्तिको ज्यान गुमेको खबर भारतीय सञ्चारमाध्यमले दिएका छन् । भारतीय ग्रामीण भेकका नागरिकहरू वर्षा ऋतुमा हुने गर्मीबाट राहत पाउन घरघरको पिँढी र आँगनमा समेत रात बिताउने गर्छन् । माझीहरूलाई यस इलाकाको सामुद्रिक क्षेत्रमा नजानसमेत सरकारी निकायले सूचना जारी गरेको छ ।