पाल्पा सवारी दुर्घटना : मृतकको संख्या १४ पुग्यो,गाउँ शोकमा डुब्यो (अपडेट)
गुगलपाटी संवाददाता बुटबलतानसेनबाट रामपुर जाँदै गरेको बस शुक्रबार रम्भा गाउँपालिका- ४ हुमिनमा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ। घटनामा १० जना घाइते भएका छन्। सडकबाट बस खस्दा ११ जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
मृत्यु हुनेमा तानसेन नगरपालिका ४ का विष्णुमान बज्राचार्य, तानसेन ३ का देवेन्द्रलाल प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य, तानसेन ३ का छत्रमान शाक्य, तानसेन ६ का सुशीलप्रसाद श्रेष्ठ, तानसेन ४ का डिभिजन सहकारी कार्यालयका प्रमुख कृष्णबहादुर बोहोरा, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन २ का लोकनाथ ढकाल, तानसेन ३ का बसन्ती खाँण, तानसेन ६ का गीता बुढाथोकी, तानसेन ६ का सचीन बज्रार्चाय, तानसेन ३ की कमला कार्की, तानसेन ५ की दुर्गादेवी श्रेष्ठ र तानसेन २ की मुना सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृत्यु हुने सबै तानसेन नगरपालिकाका बासिन्दा भएकोले तानसेन शोकाकुल छ।
घटनापछि शुक्रबार तानसेन बजार बन्दजस्तै भयो। अविरल वर्षाको कारण उद्धारमा समेत कठिनाइ भएको थियो। साँघुरो सडकमा जीपलाई साइड दिने क्रममा जमिन भासिएपछि लु २ ख ९७५ नम्बरको बस बिहान साढे नौ बजे सडकबाट करीब १ सय ५० मिटर तल खसेको थियो। गम्भीर घाइते रहेका बस चालक अर्जुन थापा, प्रवीन बज्राचार्य र सन्तम बज्राचार्य थप उपचारको लागि हलिकोप्टरबाट काठमाडौं लगिएको छ।
दुर्घटनामा परी सवारी चालक अर्जुन थापा, सहचालक विमल रञ्जन, प्रफुल्ल शर्मा, उत्तमकुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु, प्रवीण बज्राचार्य, सन्तम बज्राचार्य र पूर्णमाया महर्जन घाइते भएका छन। घाइतेमध्ये प्रवीण बज्रार्चाय, ओम मलेगो, मुना सारुको लुम्बिनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भइरहेको छ।