मनसुन यसै साता
गुगलपाटी संवाददाता काठमाडौंयस वर्षको मनसुन विगतका वर्षहरू भन्दा केहीअगावै शुरू हुने भएको छ। अंग्रेजी महिनाको जुन १० तारिख आसपासमा ( अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविद्हरूको आँकलन छ।
भारतको दक्षिणी भेगका केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा एक साताअघि शुरू भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसको प्रभाव छिट्टै नेपालमा देखिने मौसमविद् शान्ति कँडेलले बताउनुभयो। ‘सामान्यतया भारतमा मनसुन शुरू भएको ८÷१० दिनमा नेपालमा मनसुन प्रवेश गर्छ तर यसपटक जुन १० अघि नै मनसुन सक्रिय हुने गतिविधि विकास भइरहेको छ।’ –उहाँले भन्नुभयो।
हिन्द महासागरमा विकास हुने मनसुनी गतिविधि बंगालको खाडी हुँदै दक्षिण भारतमा फैलिएर क्रमशः म्यानमार, भारतकै कलकत्ता, सिक्किम, बंगलादेश हुँदै मुलुकको पूर्वी भेगबाट भित्रिने गर्छ। नेपाल भित्रिएको मनसुन एक सातापछि क्रमशः मुलुकभर फैलिने गर्छ। दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ले दक्षिण एसियामा सबैभन्दा पहिला भारतको केरलामा मे ३० तारिखमा मनसुन शुरू हुने ‘मौसमी क्यालेन्डर’ तय गरेको छ।
यसपटक त्यहाँ ४ दिनअगावै गत मे २६ तारिख ९जेठ १२० मा मनसुन सक्रिय भएकाले अन्यत्र पनि छिट्टै फैलिने मौसमविद्हरूले अनुमान गरेका हुन्। साधारणतया अंग्रेजी महिनाको जुनदेखि सेप्टेम्बरसम्मका ४ महिनाको अवधिलाई दक्षिण एसियाली मनसुन अवधि मानिन्छ। नेपालमा जुन १० मा भित्रिने मनसुन सेप्टेम्बर चौथो सातापछि निस्क्रिय हुने गर्छ। गत वर्ष जुन १२ मा भित्रिएको मनसुन सन् २०१५ मा ५ दिन ढिलो गरी शुरू भएको थियो भने २०१५ मा ३ दिन र २०१४ मा १० दिन ढिलो गरी शुरू भएको थियो।
यसपटक नेपालको वर्षा औसतका हाराहारीमा रहने सास्कोपको ठहर छ।
गत वर्ष मुलुकको पूर्वी र मध्य भेगमा अधिक र औसत वर्षा नाघे पनि मध्यपश्चिम र सुदूरपश्चिमका धेरै भेगमा औसत वर्षाको मात्रा ननाघेको जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ। प्रशान्त महासागरको पूर्वी भेगमा सक्रिय रहेको ‘एलनिनो’ निस्क्रिय भएकाले यसपटकको मनसुन औसतका हाराहारीमा रहने सास्कोपले ठहर गरेको वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताउनुभयो। प्रशान्त महासागरको पूर्वी भेगको पानी औसतभन्दा बढी पानी तात्ने प्रक्रिया ‘एलनिलो’ निस्क्रिय भएर औसतभन्दा बढी चिसो हुने प्रक्रिया ‘ल्यानिना’ शुरू भएकाले वर्षा राम्रो हुने उहाँले प्रस्ट्याउनुभयो।
आजको नेपाल समाचारपत्रमा खबर प्रकाशित छ ।