सातै प्रदेशका आन्तरिक मामिला मंत्री हेटौंडामा

गुगलपाटी संवाददाता हेटौंडा,२० जेठ
२० जेष्ठ २०७५ ०८:५८

हेटौंडामा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरु भेला भएका छन् । कार्यक्रमको आइतबार उद्घाटन गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार अहिले जेरी जेलिएजस्तो जेलिएको बताएका छन् । उनले प्रदेश सरकारले बनाउनुपर्ने ९९ कानुन बनाउन संघीय सरकारले सहयोग नगरेको बताएका हुन् ।

मुख्यमन्त्री पौडेलले कानुनी अलमलका कारण ९९ वटा कानुनमध्ये प्रदेश ३ ले १२ वटा कानुन निर्माण गरेर जेनतेन सरकार सञ्चालनको बाटो बनाएको जानकारी दिए ।सात प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको बैठकले संघीय सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संघीयताको मर्म विपरीत भएको ठहर गरेको छ । सरकारले ल्याएको बजेटमा स्थानीय तह र केन्द्रीय तहको अधिकार तोकिएको तर प्रद्येश सरकारको काम र अधिकार नतोकिएकाले संघीयताको मर्म विपरीत भएको ठहर गरेको हो । उनीहरुले पुनरावलोकनका लागि केन्द्र सरकारलाई आग्रह गर्ने पनि सहमति गरेका छन् ।

बैठकले सातै प्रदेशमा प्रदेश प्रहरी, अनुसन्धान व्युरोको गठनको प्रक्रिया अघि बढाउने र प्रदेश सरकारका मन्त्री र सांसदको मर्यादाक्रम सच्याउनका लागि संघीय सरकारलाई आग्रह गर्ने सहमति गरेको प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बताए ।कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की २ का ज्ञानेन्द्र यादव, ३ का शालिकराम जमरकट्टेल र ४ का हरिबहादुर चुमान, ५ का कुलप्रैैसाद केसी, कर्णालीका नरेश भण्डारी र ७ का प्रकाश शाह सहभागी भएका छन् ।