मुल्य बृद्धिको बिरोधमा बिद्यालय बन्द आह्वान(बिज्ञप्ती सहित)
गुगलपाटी संवाददाता हेटौंडा,२० जेठकेपी शर्मा ओली नेतृत्वको सरकारले पटक–पटक इन्धनको मूल्य बढाएको विरोधमा हेटौँडाबाट विद्यार्थीहरु जुर्मुराएका छन् । बिद्यालय तथा इन्धनमा मूल्य तथा शुल्क वृद्धिको विरोध गर्दै प्रतिपक्षीय विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र नयाँ शक्ति विद्यार्थी युनियनले देशव्यापी शैक्षिक हडतालको केन्द्रीय कार्यक्रम अन्तर्गत सोमबार मकवानपुरका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने भएका हुन् । अखिल (क्रान्तिकारी) नारायणी क्षेत्रीय समन्वय समितिका संयोजक मदन के.सी. र नयाँ शक्ति विद्यार्थी युनियन मकवानपुर जिल्ला संयोजक धनकुमार लामाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा शैक्षिक आन्दोलनलाई सहयोग गर्न सबैलाई आग्रह गरिएको छ ।
प्रतिपक्षीय विद्यार्थी संगठन निरन्तर शैक्षिक अधिकार प्राप्तिको लागि संघर्षरत रहेको भन्दै शिक्षा क्षेत्रमा देखिएका चरम निजीकरण,दलालीकरण, माफियाकरण र भ्रष्टाचार विरुद्ध चरणबद्ध रुपमा आन्दोलनमा रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै केही समयअघि जिल्ला शिक्षा कार्यालयमा १३ बुँदे मागपत्र र प्याब्सनमा ७ बुँदे मागपत्र बुझाएपनि मागहरु कार्यान्वयन नभएपछि दोस्रो चरणको आन्दोलन अन्तगर्त विभिन्न शैक्षिक संस्थामा तालाबन्दी समेत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।शैक्षिक हडतालका बेलामा आन्दोलनलाई उल्लङ्घन गरेमा जिम्मेवारी स्वयम शैक्षिक संस्था नै हुने विज्ञप्तिमा उल्लेख छ ।