३५ घरलाई खानेपानी पुर्याउन दुईपटक लिफ्ट
गुगलपाटी संवाददाता हेटौंडा२०७२ बैशाख १२ को बिनाशकारी भूकम्पका कारण खानेपानीको मुहान सुकेपछि मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–५ सानु नयाँगाउँमा खानेपानी उपलब्ध गराउन दुई पटक लिफ्टिङ गरिएको छ ।उन्युघारी खानेपानी उपभोक्ता समिति इन्द्रसरोबर–५ का अध्यक्ष चन्द्रबहादुर थोकरका अनुसार साबिक खानेपानी मुहान सुकेपछि गाउँमा खानेपानीको हाकार भयो । साह्रै समस्या भएपछि प्लान नेपाल मकवानपुरले १२ लाख ८५ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष थोकरले बताए ।
४४ हजार रुपैयाँ स्थानीयको नगद सहयोग जुटेको छ । विद्युत प्राधिकरणबाट ५ लाख बराबरको विद्युतीय सामग्री सहयोग भएको छ भने ३ लाख रुपैयाँ बराबर उपभोक्ताले श्रमदान गरेका छन् । करीब २१ लाख रुपैयाँमा ३५ घरलाई खानेपानी उपलब्ध गराउन लागिएको हो ।
सानो नयाँगाउँमा अधिकांश तरकारी खेती गरिन्छ । तर, पछिल्ला दिनमा पानीको अभाव भएपछि तरकारी पनि समयमा लगाउन नसकेको स्थानीयले बताएका छन् । असारको दोश्रो साताबाट पानी वितरण गरिने लक्ष्य रहेको प्राबिधिक गणेश ढकालको भनाई छ । खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति मकवानपुरका प्रतिनिधिले हालै सो खानेपानी आयोजनाको अनुगमन गरेका छन् । खुला दिसामुक्त घोषणा पछिका दिनमा गरिएका सरसफाईका कार्यक्रमको अनुगमन गरिएको हो ।
ग्रामीण जागरण तथा विकास संगठन राडो नेपालका कार्यक्रम संयोजक दीपेन्द्र पाठकको नेतृत्वमा भएको अनुगमनमा जिल्ला समन्वय समितिका अधिकृत रामकृष्ण थापा, जिल्ला जनस्वास्थ्यका अधिकृत शशिकान्त सिंह, पत्रकार महासंघका पूर्बअध्यक्ष भानुभक्त आचार्य, पत्रकार देबराज पन्त, खानेपानी सरसफाई उपभोक्ता महासंघका प्रतिनिधिलगायतका सहभागिता थियो । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइलाई प्राथमिकतामा राख्न सबै सहयोगी संस्थालाई ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामाले आग्रह गरे । साबिक फाखेल, मार्खु, कुलेखानी गाविस ईन्द्रसरोबरको जलाधार क्षेत्र भएर पनि खानेपानीमा निकै चुनौती भोग्न बाध्य भएको अध्यक्ष लामाले बताए ।