विवेकशील साझा पार्टी नेकपामा समाहित
गुगलपाटी संवाददाता वीरगन्ज, २२ जेठविवेकशील साझा पार्टी पर्साका कार्यसमिति नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
रविन्द्र मिश्रको नेतृत्वमा रहेको विवेकशील साझा पार्टीको पर्सा जिल्लाको सम्पूर्ण टिम नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको हो । प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले अविर र माला लगाएर नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गराएका हुन् । विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डेको नेतृत्वमा व्यवस्थापिका प्रमुख बबिल थापा, कार्यपालिका प्रमुख मुस्ताक अलाम, न्यायपालिका प्रमुख सुरेशकुमार बादल लगायतको सिंगो पार्टी नेकपामा प्रवेश गरेको हो ।
अध्यक्ष पाण्डे जनयुद्धकालका जिल्ला जनसरकार उपप्रमूख समेत रहेका थिए । नेताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले नवआगन्तुकहरुलाई रष्ट्र निर्माणको अभियानमा इमान्दार भएर लाग्न निर्देशन दिए । नेकपाका युवा नेता रहबर अन्सारीको पहलमा उनीहरु पार्टीमा प्रवेश गरेका हुन् । अन्सारीले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आफूलाई विवेकशीलमा आउन आग्रह गरेको बताउँदै उनको टिमका नेताहरुलाई कम्युनिष्ट पार्टीमा ल्याएकोले अब उनी पनि नेकपामा आउने विश्वास व्यक्त गरे । पार्टीमा प्रवेश गर्ने विवेकशीलका नेता पाण्डेले आफू बैकल्पिक शक्ति निर्माणाका लागि विवेकशीलमा लागेको र नेपालमा नेकपा बाहेक कुनै पनि शक्तिले विकास र समृद्धिको नेतृत्व गर्न नसक्ने भएकाले आफू नेकपामा आएको बताए ।