ज्ञान महायज्ञबाट ३७ लाख बढी रकम संकलन

गुगलपाटी संवाददाता हेटौंडा,२६ जेठ
२६ जेष्ठ २०७५ १०:४७

मकवानपुरको हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति २०७४ चैत २१ गतेदेखि २९ गतेसम्म भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरिएको छ ।

आज क्याम्पस प्राङ्गाणमा एक कार्यक्रमको आयोजना गरी आयव्यय विवरण सार्वजनिक गरिएको हो । सप्ताहमा कुल ३७ लाख २२ हजार ५१ रुपैयाँ संकलन भएकोमा ८ लाख ८ हजार ८ सय १० पैयाँ खर्च भएको सप्ताह मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र मैनालीले जानकारी दिए । आम्दानीतर्फ दाताहरुबाट ३६ लाख ९७ हजार र चन्दा बाकसबाट २४ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै सहयोग रकम दिने उद्घोष गरेकाहरुबाट ६२ हजार ६ सय ६६ रुपैयाँ उठ्न बाँकी रहेको बताइएको छ ।

सप्ताहमा गोपी बर्तौलाले सर्वाधिक ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, कृष्णप्रसाद मैनालीले ५ लाख १० हजार र राजेन्द्र मैनालीले ५ लाख ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै खर्चतर्फ सम्मान पत्र १ लाख ७ हजार ८० रुपैयाँ, छापाखानामा ६७ हजार ४ सय २०, खाद्यान्नमा ५६ हजार ५ सय १६, यातायात तर्फ ४५ हजार २ सय ५६, अतिथि सत्कारमा ५ हजार, विविधतर्फ १६ हजार ६ सय १०, प्रचार प्रसारमा ७९ हजार र पाण्डाल पण्डिततर्फ ३ लाख ९३ हजार ५ सय ८२ रुपैयाँ खर्च भएको जनाइएको छ । संकलित रकम क्याम्पसको शैक्षिक तथा भौतिक अवस्था सुधारको निम्ती उपयोग गरिने छ ।

सप्ताहमा संकलित रकम आजै आयोजक समितिद्वारा क्याम्पस संचालक समितिलाई हस्तान्तरण समेत गरिएको छ । सप्ताह मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र मैनालीको अध्यक्षता तथा वडा नम्बर १३ का वडाअध्यक्ष मनोजकुमार वाईबाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । क्याम्पस प्रमुख कृष्णमाया लटौलाले संचालन गरेको कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शंकरबहादुर रोक्का, आर्थिक उपसमितिका संयोजक विष्णुमाया लामा, सदस्य बिरु थोकर, संचारकर्मी ज्योति न्यौपाने, दिपा लामा, सहयोगी दाताहरु तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

सप्ताह ज्ञान महायज्ञमा प्रमुख भागवत वाचक पण्डित सुशिल पौडेल सहित भागवत उपवाचक पण्डित रमेश चालिसेको टोलीले भागवत कथा वाचन गरेका थिए भने प्रमुख बौद्ध धर्म गुरु खेन रेन्पुन्छे तथा आचार्य सर्वजीत तामाङ, बौद्ध गुरु ज्ञान बज्र लामा लगायतले बौद्ध ज्ञान वाचन गरेका थिए ।

वि.सं. २०७१ सालमा सम्बन्धनप्राप्त क्याम्पसमा स्थानीय विद्यार्थीलाई प्रोत्सहान दिँदै वडा नम्बर १२ र १३ का स्थानीय विद्यार्थीहरुका लागि वडा कार्यालयको समन्वयमा निःशुल्क शिक्षाको व्यवस्था समेत मिलाईदै आएको छ । हाल व्यवस्थापन संकाय मात्र पढाई हुने क्याम्पसमा महेन्द्र माविमा अध्ययनरत विद्यार्थीहरुले समेत चासो दिएर सोही क्याम्पसमा अध्ययन गर्ने उद्घोष समेत गरेका छन् ।